नेपालभन्दा कमजोर आर्थिक अवस्था भएका देशहरुले पछिल्लो ३ दशकमा विकासमा फड्को मारिसक्दा नेपालको अवस्था भने अहिले पनि ज्यूँका त्यूँ छ । २०४६ सालमा पञ्चायत अन्त्य र प्रजातन्त्र स्थापनायता सत्तामा दलहरुको नियन्त्रण रहे पनि त्यसअनुसार काम गर्न नसक्दा त्यसयताको समय उपलब्धिमूलक बन्न नसकेको हो । अहिले पनि नेपालको काम गर्ने उमेर समूहको ठूलो हिस्सा विदेश पलायन भइरहेको छ । देशमा रोजगारी सृजना, कलकारखानाको वृद्धि र किसानलाई प्रोत्साहन सपना जस्तै बनेको छ । हरेक वस्तुका लागि आयातमा नै निर्भर हुने अवस्था छ । देशको बाह्य तथा आन्तरिक ऋण बढेको बढ्यै छ । तर, देशको आम्दानी भने रेमिट्यान्समा नै सीमित छ । त्यही रेमिट्यान्स पनि विभिन्न वस्तु आयातका लागि विदेशमै फर्किने भएकाले अर्थतन्त्र धराशायी बन्दै गएको छ ।
पछिल्लो समय त नेपालको अर्थतन्त्र संकटोन्मुख छ । आर्थिक समस्याका कारण सरकार कतिपय आयोजनाको भुक्तानी दिननसक्ने अवस्थामा पुगेको छ । व्यापार व्यवसायमा मन्दी छाएको छ । भन्सार संकलन न्यून हुँदै गएको छ । सरकारले विकासलाई छुट्याउने खर्चभन्दा बढी ऋणको सावाँब्याजका लागि विनियोजना गरेको छ । अत्यधिक चालु खर्चका कारण सरकारसँग विकास बजेट नै नहुने अवस्था आएको छ । अन्य देशले यस अवधिमा विकास गरिरहँदा नेपाल भने किन असफल राष्ट्र बन्ने दिशामा अघि बढिरहेको छ त ? देश विकास नहुनुको मुख्य समस्या के होला ?
नेपालको विकास सपनामा नै सीमित रहनुमा मुख्य कारण हो, यहाँका नेता तथा दलाल पूँजीवादमा उनीहरुको संलग्नता र संरक्षण । २०४६ सालयता कांग्रेस तथा कम्युनिस्ट दलहरुले सरकार निर्माणका लागि विचार सिद्धान्त नमिल्ने दलहरुसँग पनि गठबन्धन गरेका छन् । यसले सत्तामा टिकिरहन उनीहरुलाई सहज त भयो, तर यसले देशलाई भन्दा नेता तथा उनीहरुको परिवार, आफन्त र आसेपासेलाई मात्र फाइदा पुग्यो । यिनै अप्राकृति गठबन्धनका कारण देशमा दलाल पूँजीवाद पनि मौलायो । सरकार उत्पादन वृद्धि, कलकारखाना सञ्चालन र विपन्न वर्गको उत्थानमा चुक्दा अहिले मुलुकमा दलाल पूँजीवादले प्रश्रय पाएको छ । उत्पादन ठप्पप्रायः भएको छ भने ठूला पूँजीपति विदेश सामानको आयातमा लगानी गरिरहेका छन् । नेताका आसेपासे पनि त्यहीको पहुँचको आधारमा ठूला पद हत्याउने र भ्रष्टाचार गरी अकूत सम्पत्ति आर्जनमा संलग्न रहेको पाइएको छ ।
दलाल पूँजीवादलाई बढाव दिँदा देश आन्तरिक रुपमा खोक्रो बन्दै गएको छ । जसका कारण साम्राज्यवादी देश अमेरिका लगायत पश्चिमा मुलुक नेपालको कमजोर आर्थिक अवस्था उठाउन तँछाडमछाड गरिरहेका छन् । यसले आगामी दिनमा नेपाल कतै शक्ति राष्ट्रहरुको रणभूमि बन्ने त होइन भन्ने आशंका पनि बढाएको छ । त्यसैले सबै दलका नेताहरुमा देशको समस्या आफू नै हो भन्ने बुझाइ जहिलेसम्म हुन सक्दैन, तबसम्म देशले विकासको गति लिन पनि सक्दैन । अकर्मण्यता, दण्डहीनता र भ्रष्टाचारलाई संरक्षण गरिरहने र उत्पादनमा प्रोत्साहन नगर्ने हो भने देश असफल बन्ने जोखिम झनै बढ्नेछ । जनधारणा साप्ताहिक