काठमाडौं / नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग असन्तुष्टि राखेका छन्।
मंगलबार संस्थापनइतर समूहको छुट्टै भेला गरेका कोइरालाले बुधबार उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार सहितको टोली लिएर पार्टी सभापतिसँग असन्तुष्टि पोख्न पुगेका हुन्।
कोइरालाले मंगलबार बिशालनगरस्थित सचिवालयमा आफू पक्षका पदाधिकारी र केन्द्रीय सदस्यहरूसँग छलफल गरेका थिए।
उक्त छलफलमा केन्द्रीय सदस्यहरूले सभापति देउवालाई भेटेर एकलौटी रूपमा पार्टीका निर्णय नगर्न सचेत गराउन कोइरालासँग भनेका थिए।
सोही निष्कर्ष बोकेर इतर पक्ष बुधबार सभापतिलाई भेट्न पुगेको हो। टोली बुधबार बिहान देउवा निवास धुम्बाराहीमा आधा घन्टा बसेको थियो। कोइरालाले बिषेशगरी देउवासँग सरकार सञ्चालन कार्यशैलीबारे असन्तुष्टि पोखेका थिए।
देउवाले पार्टीलाई एकलौटी ढंगले सञ्चालन गरेको कोइराला पक्षले आरोप लगाएको र देउवाले सवैलाई मिलाएर लैजाने बताएको देउवा निकट स्रोतले जनाएको छ।
कांग्रेस केन्द्रदेखि प्रदेशका सरकारमा सहभागी भए पनि प्रभावकारी काम गर्न नसकेको कोइरालाले देउवासँग गुनासो गरेका थिए।
देउवा विधानअनुसार नचलेको भ्रातृसंघहरु नेपाल विद्यार्थी संघ (नेविसंघ) र तरूण दल विधानविपरीत बनाएको केन्द्रदेखि प्रदेश सरकारमा सहभागी हुँदा इतर समूहमा छलफल नगरेकोबारे कोइरालाले देउवासँग प्रश्न गरेका थिए।
कोइरालाले धेरै समयदेखि आफूले प्रश्न उठाउँदा र सुझाव दिँदा समेत देउवाले बेवास्ता गरेको भन्दै आफूहरुले असन्तुष्टिले सीमा नाघेको हुँदा सरकारबाट बाहिरनसमेत बाध्य हुनुपर्ने बताएका स्रोतले बतायो।
देउवाको कार्यशैलीले सरकार टिकाउन समेत कठिन हुने भन्दै जतिदिन सरकार टिकाउनुहुन्छ टिकाउनुस् भनेर कोइराले देउवालाई जवाफ दिएका थिए।