काठमाडौं । अनेरास्ववियु आरआर क्याम्पस कमिटीले आयोजना गरेको क्याम्पस खुला पुरुष फुटसल प्रतियोगिता असोज ८ गते सुरु हुने भएको छ।
अनेरास्ववियु आरआर क्याम्पस कमिटीले सोमबार पत्रकार सम्मेलन गर्दै उक्त खेल आयोजनाबारे जानकारी दिएको हो।
अनेरास्ववियु आरआर क्याम्पस कमिटीका अध्यक्ष लोकेश खड्काले संगठनले विद्यार्थीमाझ निरन्तर रचनात्मक क्रियाकलाप गर्दै आएको बताए। ‘अनेरास्ववियु आरआर क्याम्पस कमिटी विद्यार्थीमाझ निरन्तर रचनात्मक क्रियाकलाप गर्दै आएको संगठन हो, यसले वर्षेनि हजारौँ विद्यार्थीहरुबाट राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्नमा सहयोग गर्नुका साथै खेलकुदमार्फत विश्वसामु राष्ट्रलाई चिनाउने कुरामा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ,’ उनले भने।
अनेरास्ववियुले विगत लामो समयदेखि खेलकुदका विभिन्न विधामा रुचि राख्ने विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गरी उनीहरुलाई प्रोत्साहित गर्दै आएको जानकारी उनले दिए। ‘अहिले अनेरास्ववियु आरआर क्याम्पस कमिटी अन्तर क्याम्पस खुला पुरुष फुटसल प्रतियोगिताको आयोजनामा जुटेको छ,’ उनले भने, ‘विगतमा पनि विभिन्न प्रतियोगितामा महत्वपूर्ण स्थान हासिल गरेको यस आरआर क्याम्पसले सयौंको संख्यामा खेलाडीहरु उत्पादन गरिसकेको छ, विगतका वर्षहरुमा पनि क्यापस कमिटीले रचनात्मक प्रतियोगिताहरु सम्पन्न गरिसकेको छ।’
उनका अनुसार प्रथम विजेतालाई १ लाख ११ हजार १११ रुपैयाँ, उपविजेताले ५५ हजार ५५५ रुपैयाँ पाउने छन्। साथमा सिल्ड,मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ। उनले खेल यही असोज ८ गते बिहान ७ः३० बजे सुरु हुने, टिम दर्ता र प्रवेश शुल्क १० हजार रुपैयाँ तोकिएको जानकारी दिए। उनका अनुसार सबै खेलहरु नकआउट विधिबाट खेलाइनेछ।