काठमाडौं । न्याय परिषद्ले जिल्ला अदालतमा रिक्तमध्ये ३६ न्यायाधीशको पदपूर्ति गरेको छ । परिषद्को सोमबारको बैठकले नियुक्ति र पदस्थापन गरेको हो । कार्यक्षमता, ज्येष्ठता र वरिष्ठताका आधारमा सात, खुला प्रतिस्पर्धाबाट एक र खुला तथा आन्तरिक प्रतिस्पर्धाबाट पूरा हुन नसकेका बाँकी पदमा पनि परिषद्ले नियुक्ति एवं पदस्थापन गरेको हो ।
न्याय परिषद्को निर्णय अनुसार कार्यक्षमता, ज्येष्ठता र वरिष्ठताका आधारमा वशिष्टकुमार घिमिरे, योगनाथ ढकाल, शम्भु गौतम, राजेन्द्रसिंह भण्डारी, रामचन्द्र शर्मा, ज्ञानेन्द्र इटेनी र कृतबहादुर बोहरालाई न्यायाधीशमा नियुक्त गरिएको छ । यस्तै खुला प्रतिस्पर्धाबाट पारसमणि पोखरेल नियुक्त हुनुभएको छ ।
आन्तरिक र खुला प्रतिस्पर्धाको परीक्षाबाट पूर्ति हुन नसकेका २८ पदमा पनि नियुक्ति र पदस्थापन भएको छ । २९ जनाका लागि भएको प्रतिस्पर्धामा लिखित परीक्षामा एक जना मात्र सिफारिस भएपछि २८ जनाको पदपूर्ति हुन सकेको थिएन । उक्त रिक्त स्थानमा पनि परिषद्ले पदपूर्ति गरेको हो ।
निर्णय अनुसार सञ्जीव पोखरेल, इन्द्रबहादुर कठायत, शम्भुप्रसाद बराल, हिरण्यप्रसाद भण्डारी, रुद्रमणि गिरी, दुर्गाप्रसाद खनाल न्यायाधीशमा नियुक्त हुनुभएको छ । यस्तै उपेन्द्रकेशर खनाल, रेशराज शर्मा, लोकबहादुर हमाल, कोशलेश्वर ज्ञवाली, आनन्दराज पन्त, यदुराज शर्मा, नगेन्द्रकुमार कालाखेती, नगेन्द्रकेशरी पोखरेल, महेश खनाल पनि न्यायाधीशमा नियुक्त हुनुभएको छ ।
यस्तै जुद्धबहादुर आलेमगर, मोना सिंह, नेत्रप्रसाद भुसाल, रामप्रसाद पौडेल, कुमार मास्के, दिनेन्द्र थापामगर, रामाकान्त यादव, नीलकण्ठ बराल, प्रदीपकुमार उपाध्याय, शिवकुमार पोखरेल, श्यामप्रसाद श्रेष्ठ र उषा श्रेष्ठ पनि जिल्ला न्यायाधीशमा नियुक्त हुनुभएको छ । परिषद्ले नियुक्त सबैको पदस्थापन पनि गरेको छ । बैठकले १७ जिल्ला न्यायाधीशको सरुवा पनि गरेको छ ।