काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आम नागरिकले अनुभव गर्न सक्ने गरी काम गरेको जनाएका छन् ।
संविधान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले संघीय शासन प्रणाली नयाँ अभ्यास भए पनि नागरिकसामु देख्न सक्ने, छुन सक्ने गर्ने अवस्थामा सरकार उभिएको जनाएका हुन् । साथै, उनले गण्डकी प्रदेश सरकार नेपालको संविधानको सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्त बमोजिम संघीयता कार्यान्वयन गर्न प्रतिवद्ध रहेको जनाए।
यसका लागि अन्तर प्रदेश मुख्यमन्त्री बैठक गरेर संघीयतालाई सबलीकरण गर्न १७ बुँदे साझा धारणा जारी गरिसकेको स्मरण गरे । संघीयता कार्यान्वयनका लागि प्रदेश समन्वय परिषद्ले प्रदेश र स्थानीय तहका साझा समस्या र चुनौतीहरु पहिचान गर्दै कानून तर्जुमा, साझा अधिकारका सूची कार्यान्वयनमा देखिएका समस्या तथा अन्तर तह समन्वयका सुझावलाई कार्यान्वयनका लागि संघीय सरकारसमक्ष अनुरोध गरिएको उनको धारणा भनाइ छ ।