काठमाडौं / एसियाकप क्रिकेटको आफ्नो महत्वपूर्ण खेलमा अफगानिस्तान छनोट नजिक पुगेर बाहिरिएको छ। पाकिस्तानको लाहोरमा भएको खेलमा अफगानिस्तान विरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९१ रन बनाएको थियो।
तर अफगानिस्तानलाई शीर्ष चारमा पुग्नका लागि नेट रनरेटमा श्रीलंकालाई पछि पार्न ३७.१ ओभरमानै जित निकाल्नु पर्ने चुनौती थियो। यद्यपि उसले ३७.४ ओभरमा २९५ रन बनाउन सकेको भएपनि छनोट हुन सक्थ्यो। अर्थात छनोटका लागि निर्णायक मानिएको अन्तिम बलमा अफगानिस्तानलाई छनोट हुन छक्का आवश्यक थियो।
तर उसले अन्तिम बलमा अन्तिम विकेटका रुपमा फजलहक फारुखीलाई गुमाउन पुग्दा खेलमा २ रनले पराजित भयो भने छनोटका लागि आवश्य ६ रनबाट विमुख हुँदा समूहचरणबाटै घर फर्कियो। अफगानिस्तान बाहिरिएसँगै समूह ‘बी’ बाट श्रीलंका र बंगलादेश शीर्ष चारमा स्थान बनाउन सफल भएका छन्। अफगानिस्तान भने प्रतियोगितामा जितविहीन रह्यो।
त्यसअघि श्रीलंकाले कुशल मेन्डीसको ९२ रनको स्कोरमा २ सय ९१ रनको उच्च स्कोर बनाएको थियो। उनी बाहेक दिमुथ करुनारत्नेले ३२ रन बनाउँदा चरिथ आशलन्काले ३६ रन बनाए। त्यस्तै धन्नजय डि सिल्भा १४ रनमा आउट हुँदा दुनिथ वेलाल्जी ३३ रनमा अविजित रहे। त्यस्तै महेश थकसिना २८ रनमा पेभिलियन फर्किए। अफगानिस्तानका लागि गुल्बदिन नइबले ४ विकेट लिंदा रसिद खानले २ तथा मुजिव उर रहमानले १ विकेट हात पारेका थिए।
जवाफमा अफगानिस्तान ३७.४ ओभरमा २ सय ८९ रनमा समेटिंदा २ रनले पराजित हुन पुग्यो। उसका लागि मोहम्मद नावीले सर्वाधिक ६५ रन बनाउँदा कप्तान हस्मतुल्लाह साहिदीले ५९ रन बनाउ। त्यस्तै गुलबदीन नइबले २२ रन बनाउँदा रहमत शाहले ४५ करिम जनतले २२ र नजुल्लाह जर्दानले २३ रन बनाए। रासिद खान २७ रनमा अविजित फर्किए। अब बुधबारबाट शीर्ष चारका खेलहरु हुने छन्।