काठमाण्डौ / वामदेव गौतमले नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानको केन्द्रिय कमिटीको छैठौं पूर्णबैठकमा बिस्तृत समाजबादी कार्यक्रमसहितको प्रतिबेदन प्रस्तुत गर्नु भएको छ । हिजो भदौ १७ गते ललितपुरको धोबिघाटस्थित सिद्धार्थ कटेजमा बैठक प्रारम्भ भएको हो । एकता अभियानका अध्यक्ष गौतमले बैठकको उदघाटन गर्नु हुँदै ३२ पृष्ठ लामो समाजबादी कार्यक्रमसहित बिभिन्न सुधारका योजनाहरु प्रस्तुत गर्नु भएको छ । गौतमले प्रस्तुत गर्नु भएको दस्ताबेज केन्द्रीय सदस्यहरुलाई हिजो नै बितरण गरिएको छ । हिजोको बैठकले दस्ताबेजमा छलफलका लागि समूह बिभाजन समेतगरेको छ । आज १८ गते समुहगत छलफलसहित समाजबादी कार्यक्रम पारित गरिने जनाईएको छ ।
नेपाली कम्युनिष्ट आन्दोलनको ७४ बर्षिय ईतिहासमा अहिसम्म कुनैपनि नेताबाट समाजबादी कार्यक्रम र योजना प्रस्तुत गरिएको छैन । समाजबाद गन्तब्य भनेर नेपालको सम्बिधानमा लेखिएको भए पनि सरकारबाट समेत हालसम्म समाजबादी कार्यक्रम र योजना सर्वजनिक भएको छैन । समाजबाद लागू गर्न सम्बिधान पनि स्शोधन गर्न आवश्यक हुने गौतमले सुझाव गर्नु भएको छ ।अत्यन्तै खर्चिलो भैरहेको र जनताबीच अलोकप्रियपनि भैरहेको राज्यका बिभिन्न तहका निर्वाचन प्रणालीको बिकल्पमा जान एकता अभियानको सुझाव रहेको छ । राष्ट्रियसभा खारेजी, प्रदेश संरचनाको खारेजी, स्थानीय तहका सबै प्रमुखहरुको प्रत्यक्ष निर्वाचन जस्तै राज्यका कार्यकारी प्रमुख राष्ट्रपतिको पनि प्रत्यक्ष निर्वाचन, पूर्ण समानुपातिक निर्वाचन प्रणाली मार्फत संसदको निर्वाचन, सांसदहरु मंत्री बन्न नपाउने लगायतका नयाँ कार्यक्रमहरु प्रस्ताव गरिएको छ ।