बुटवल / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले एमालेविरूद्ध षडयन्त्र गरेको आरोप लगाएका छन्।
बुटवलमा शनिबार आयोजित एमाले लुम्बिनी प्रदेश अधिवेशनको उद्घाटन गर्दै ओलीले गठबन्धन नामको बुँख्याचाको संज्ञा दिदै सरकारको कडा आलोचना गरे।
एमाले नेतृत्वको सरकारले गरेको विकास देखेर उनीहरु आत्तिएको बताउँदै ओलीले वामपन्थी खोल ओढेकाहरुको सहारामा सरकार ढालेको आरोप लगाए ।
ओलीले भ्रष्टाचार नियन्त्रणका नाममा सरकारले राष्ट्रिय पुँजीपतिलाई आतंकित बनाएको आरोप लगाए ।
प्रधानमन्त्री पुष्पकमल दाहालको आलोचना गर्दै उनले भने, ‘गेरू बस्त्र धारणम, मुर्राभैसी ताननम् । विदेश जाने मान्छे बढेका बढ्यै छन् । रेमिट्यान्स घटेको छ, राजश्व घटेको छ ।’
एमालेको सरकार बनेमा एक हप्तामा डबल राजश्व उठाउने उनले दाबी गरे। ओलीले विरोधीहरुलाई देखाउनका लागि एमाले एकतावद्ध भएर जान जरुरी रहेको बताए ।
उनले नेताहरु सबैसँगै बसेर सबैलाई चित्त बुझ्ने गरी मिलाएर प्रदेशको नेतृत्व चयन गर्न आग्रह गरे । कार्यक्रममा उपाध्यक्ष विष्णु पौडेलले एमालेको नीति र नेतृत्वमा कुनै विवाद नरहेको दाबी गरे। पौडेलले एमालेभित्र विवाद ल्याएर पार्टीलाई कमजोर पार्ने प्रयास भइरहे पनि त्यो सफल हुन नदिने बताए ।
‘एमालेभित्र नीति र विधिमा कुनै विवाद छैन । यही नीतिले देश विकास हुन्छ’, पौडेलले भने, ‘नेतृत्वको प्रश्नमा पनि विवाद छैन । विवाद होस् भनेर कोसिस भइरहेका छन् । तर ती पानीको फोका हुनेछन् ।’
उनले १० औँ महाधिवेशनबाट निर्वाचित एमालेको कमिटी एकताबद्ध रहेको भन्दै अध्यक्ष केपी ओलीको नेतृत्वमा सबै गोलबद्ध रहेको बताए । ‘एमालेको अधोगति चाहनेहरू षड्यन्त्र गरिरहेका छन् । पार्टीभित्र गुटको कुरा प्रचारमा ल्याइएको छ । पार्टी र गुट विपरीत विशेषता हुन् । गुट र पार्टी कहिल्यै पनि सँगै जान सक्दैन’, उनले भने, ‘पार्टी बनाउने हो भने गुट समाप्त हुन्छन् । गुटबन्दीको चर्चा गर्ने रङ्गिन समाचारबाट तरङ्गित नहुनुहोला ।’ पौडेलले एमालेमा ओलीको विकल्पमा चलेको चर्चा मिथ्या भएको दाबी समेत गरे ।
उनले एमालेभित्रको एकतालाई कमजोर पार्ने प्रयासलाई कुनै हालतमा सफल हुन नदिने भन्दै नेतृत्व उमेर नभएर विचार भएकाले समकालीन राष्ट्रिय राजनीतिका दूरदर्शी नेता केपी ओली रहेको दाबी गरे । उनले महासचिव शंकर पोखरेल र आफ्नाबीचमा द्वन्द्व सिर्जना गर्ने प्रयास गरिएको बताउदै त्यस्ता विषयमा विश्वास नगर्न आग्रह गरे। कार्यक्रममा महासचिव शंकर पोखरेलले उपाध्यक्ष विष्णु पौडेल र आफूबीच कुनै प्रतिस्पर्धा नरहेको बताए।
‘लुम्बिनी प्रदेश अधिवेशनमा मात्र हैन अरु सबै विषयमा विष्णु पौडेल र शंकर पोखरेल एक ठाउँमा छन् कसैले शंका गर्नुपर्दैन’, पोखरेलले भने । लुम्बिनी प्रदेशको अधिवेशनमा उपाध्यक्ष पौडेल र महासचिव पोखरेलले आआफ्नो नजिकको व्यक्तिलाई अध्यक्ष बनाउन चाहेको र दुई पक्षबीच चुनावी प्रतिस्पर्धा हुन लागेको चर्चा एमालेवृत्तमा छ।