काठमाडौँ / भेटमा नेपाल–अमेरिकाबीच द्विपक्षीय विषय र बहुआयामिक सहकार्यको विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।नेपाल भ्रमणमा आएका अमेरिकी सिनेटर क्रिस भान होलेनले परराष्ट्रमन्त्री एनपी साउदलाई भेटेका छन् ।
सिनेटर होलेनले शुक्रबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेर मन्त्री साउदलाई भेटेका हुन् । उक्त भेटवार्तामा नेपाल–अमेरिकाबीच द्विपक्षीय विषय र बहुआयामिक सहकार्यको विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मेरिल्यान्डबाट प्रतिनिधित्व गर्ने सिनेटर होलेनले ८ दिने दक्षिण एसियाको औपचारिक भ्रमणमा आएका हुन् । यो क्रममा उनले नेपालसहित, श्रीलंका र माल्दिभ्सको भ्रमण गर्दैछन् ।
होलेन अमेरिकी संसद्को विदेश सम्बन्ध समिति र राज्य तथा विदेश सञ्चालन विनियोजन उपसमितिका सदस्य हुन् । उनले तीनै मुलुकका प्रमुख सरकारी अधिकारीहरू, नागरिक समाज संगठनहरू, उद्योगी, सम्बन्धित मुलुकमा दूतावासका कर्मचारीहरू र प्रत्येक राष्ट्रमा काम गर्ने अमेरिकीहरू र मेरीलयान्डका व्यक्तिहरुसँग ५० भन्दा बढी भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
होलेनले आफ्नो भ्रमणका क्रममा प्रत्येक राष्ट्रहरूसँग अमेरिकाको द्विपक्षीय सम्बन्धलाई बलियो बनाउन काम गर्ने जनाइएको छ । नेपाल भ्रमणमा अमेरिका र नेपालबीचको राजनीतिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउन सरकारी अधिकारी, युवा नेता, सांसद र उद्यमीसँग सम्पर्क राख्ने कार्यक्रम रहेको पनि उनको सचिवालयले जनाएको छ ।

