काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले चीन सरकारको निमन्त्रणामा बिहीबारका लागि तय भएको पाँचदिने चीन भ्रमण स्थगित गरेका छन्।
महानगरप्रमुख शाहले आफूहरूले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेको कुराको बेवास्ता गर्दै चीनले नेपाललाई नै नसोधी ती भू-भाग भारतको भनी नक्शा निकालेका कारण आफूले भ्रमण स्थगित गरेका हुन्।
नेपाली भू-भागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम भएको बालेनको जिकिर छ।
सामाजिक सञ्जाल फेसबुकमा बालेन लेख्छन्, ‘हामी नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौँ। केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको छ। नेपाली भू-भागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौँ। त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुँदै गरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु।’
’
चीनले सोमबार भारतको अरुणाचल प्रदेशलाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेको थियाे। चीनले उक्त नयाँ नक्सालाई ‘२०२३ को चीनको स्टान्डर्ड नक्सा’ बताएकाे छ।
नक्सा प्राकृतिक संसाधन मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरिएको हो। चीनले चीनले अरुणाचल प्रदेशको ९० हजार वर्गकिलोमिटर जमिन आफ्नो भएको दाबी गर्दै आएको छ।
यता, भारतले भने चीनले पश्चिमी क्षेत्रमा करिब ३८ हजार वर्गकिलोमिटर क्षेत्रमा अवैधानिक रूपमा कब्जा जमाएको आरोप लगाउँदै आएको छ।
दुई देशबीच सीमाबिन्दुलाई लिएर बेलाबेलामा विवाद हुँदै आइहेकाे छ।
दक्षिण अफ्रिकामा सम्पन्न भएकाे ब्रिक्स शिखर सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच सीमा विवादबारे छलफल भएकाे बताइएकाे थियाे।


