भारतको उत्तरप्रदेशस्थित शिक्षिकाले कक्षाकोठाभित्र एक मुस्लिम विद्यार्थीलाई पिट्न लगाएकोमा सरकारले विद्यालय बन्द गरिदिएको छ ।
नेहा पब्लिक स्कुलकी शिक्षिका त्रिप्ती त्यागीले केही दिनअघि ७ वर्षीय मुस्लिम विद्यार्थीमाथि अर्का विद्यार्थीलाई पिट्नका लागि खटाएको भिडियो सार्वजनिक भएको थियो ।
उक्त भिडियोलाई लिएर चौतर्फी आलोचना भएपछि सरकारी अधिकारीहरूले उक्त विद्यालयले शिक्षा विभागको मापदण्ड पालना नगरेको भन्दै विद्यालय बन्द गराएका हुन् । अधिकारीहरूले अब उक्त विद्यालयका विद्यार्थीहरू सरकारी विद्यालय वा नजिकका अन्य विद्यालयमा जानसक्ने पनि बताएका छन् ।
शिक्षिका त्रिप्ती त्यागीले भने आफ्नो हर्कतप्रति आत्मालोचना गरेकी छैनन् । पीडित बालकका परिवारले भने समय तालिका गलत बनाएको भन्दै बालकलाई कुटपिट गरिएको जनाएका छन् ।
मुजफ्फरनगर जिल्लाको उक्त निजी विद्यालयभित्रको भिडियोमा शिक्षिका त्यागीले मुस्लिम विद्यार्थीमाथि झन् कडा रुपमा पिट्न भन्दै अर्का विद्यार्थीलाई खटाएको देखिएकी छन् । ‘तिमीले किन विस्तारै पिटिरहेका छौं ? उसलाई झन् साह्रै पिट,’ भिडियोमा शिक्षिका त्यागीले भनेको सुनिन्छ । पीडित बालक भने कक्षाभित्र रुँदै उभिरहेका छन् ।
पीडित बालकका बाबुले घटनाबारे प्रहरीलाई जानकारी दिनुका साथै बालकलाई विद्यालयबाट निकालेका छन् । तर उनले शिक्षिकाविरुद्ध मुद्दा दायर गरेका छैनन् । स्थानीय शिक्षा अधिकृत शुभम शुक्लाले घटनाबारे अधिकारीहरूले अनुसन्धान गरिरहेको जानकारी दिएको बीबीसीको समाचारमा उल्लेख छ ।
यसैबीच शिक्षिकाले विद्यालय बन्द गरिएकोबारे कुनै प्रतिक्रिया दिएकी छैनन् । यद्यपि एनडीटिभीमा दिएको अन्तर्वार्तामा शिक्षिका त्यागीले विद्यालयमा विद्यार्थीलाई ‘नियन्त्रण गर्नुपर्ने’ प्रतिक्रिया दिएकी छन् ।
सत्तारुढ तथा हिन्दु राष्ट्रवादी भारतीय जनता पार्टीले उत्तर प्रदेशमा २०१७ देखि शासन गर्दै आएको छ । जहाँ अन्य राजनीतिक दलका नेताहरूले यस घटनालाई घृणित अपराध भन्दै आलोचना गर्दै आएका छन् ।
यस घटनामा टिप्पणी गर्दै भारतको प्रतिपक्षी दल कंग्रेसका नेता राहुल गान्धीले भाजपाले धार्मिक तनाब बढाउन बढावा दिइरहेको बताएका छन् । प्रियंका गान्धी, उत्तरप्रदेशका पूर्वमुख्यमन्त्री अखिलेश यादवलगायतका नेताहरूले पनि यस घटनालाई लिएर आपत्ति जनाएका थिए ।