काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ न्यूयोर्क जानुहुने भएको छ । बुधबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रधनमन्त्री प्रचण्डको न्यूयोर्क भ्रमण स्वीकृत गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डल न्यूयोर्क जान लागेको जानकारी दिनुभयो ।
यसैगरी, बैठकले गायक स्व.जेबी टुहुरे (जुठबहादुर खड्गी) लाई जनगायकको उपाधि प्रदान गर्ने निर्णय पनि गरेको छ ।
सञ्चारमन्त्री शर्माले सरकारले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११६ उपदफा १ बमोजिम नेपाल धितोपत्र बोर्डलाई संलग्न धितोपत्र तथा निष्कासन सातौं संशोधन नियमावली, २०८० संशोधन गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको बताउनु भयो ।
मन्त्री शर्माले सरकारले धुलिखेल अस्पताल आपत्कालीन केन्द्र सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन तीा अर्ब २९ करोड ६० लाख रुपियाँ अनुदान सहायता स्वीकृत गरेको बताउनुभयो ।