मोरङ – कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने दिन सोमबार ८ जना प्रदेश सभा सदस्य प्रदेश सभा बैठकमा अनुपस्थित हुने भएका छन्।
विराटनगरस्थित प्रदेश सभाका सचिव गोपाल पराजुलीका अनुसार सोमबारको बैठकमा ८ जना ज्येष्ठ प्रदेश सभा सदस्यले बैठकमा उपस्थित हुन नसक्ने सूचना दिएका छन्।
भदौ १ गतेको बैठकले ४ गते मुख्यमन्त्री थापालाई विश्वासको मत लिनका लागि उपसभामुख सिर्जना दनुवारले समय दिएकी छन्।
सोहीअनुरुप सोमबार दिउँसो १ बजे बस्ने भनिएको बैठकमा घरकामकाजको कारण देखाउँदै प्रदेश सभा सचिवालयलाई बैठकमा उपस्थित हुन नसक्ने निवेदन दिएका हुन्।
सचिवालयका अनुसार यसरी बिदा बस्ने प्रदेश सभा सदस्यमा एमालेबाट ७ र राप्रपाबाट १ जना प्रदेश सभा सदस्यले बिदाका लागि निवेदन दिएका हुन्।
सचिवालयका अनुसार एमालेबाट ७१ वर्षीय रोहितबहादुर कार्की, ६७ वर्षीया मालतीकुमारी लिम्बू, ६७ वर्षीय रामप्रसाद महतो र खड्गबहादुर बस्नेत, ६६ वर्षीया तारादेवी ढकाल, ६५ वर्षीय किशोरचन्द्र दुलाल र ६४ वर्षीय ज्ञानेन्द्र सुवेदी छन्। त्यसैगरी, राप्रपाबाट ६५ वर्षीय गोपालबहादुर विश्वकर्मा छन्।
सोमबार हुने प्रदेश सभा बैठकमा एमाले र राप्रपाले विश्वासको मत नदिने पक्षमा छ।
सोमबार बस्ने भनिएको बैठक एमालेबाट निर्वाचित उपसभामुख सिर्जना दनुवारले बैठकमा अनुपस्थित हुने जानकारी सचिवालयमा आएको छैन। यद्यपि, उपसभामुख बिदामा रहँदा उनको अनुपस्थितिमा अध्यक्ष मण्डलले सभा सञ्चालन गर्नुपर्ने प्रावधान छ।
जसमा एमालेबाट मालतीकुमारी लिम्बू, राप्रपाबाट अम्बरबहादुर विष्ट, कांग्रेसबाट इस्राइल मन्सुर र माओवादी केन्द्रबाट गीता तिम्सिना छन्। ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ।
मुख्यमन्त्री थापाको नेतृत्वमा रहेको सरकारलाई उनकै दल कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादी पार्र्टीका ४ र जसपाको एक गरी ४७ प्रदेश सभा सदस्यको समर्थन छ। विपक्षमा एमालेका उपसभामुखसहित ४० र राप्रपाको ६ जना प्रदेश सभा सदस्य छन्।