एक्स (ट्विटर) मालिक एलोन मस्कले चाँडै नै आफ्नो प्लेटफर्मबाट कसैलाई ब्लक गर्ने सुविधा हटाउने घोषणा गरेका छन्।
मस्कका अनुसार यो सुविधाको कुनै अर्थ छैन। उनले सिधै म्यासेज ब्लक गर्ने सुविधा भने जारी रहने बताए ।
कुनै प्रयोगकर्ताले कसैलाई ब्लक गर्दा उसकाे पोस्टहरू टाइमलाइनमा देखा पर्दैन। न त ब्लक भएका प्रयोगकर्ताले उक्त खाताको कुनै पनि पोस्ट हेर्न सक्छन् न त उनीहरूलाई प्रत्यक्ष सन्देश पठाउन सकिन्छ।
प्लेटफर्मबाट ब्लक गर्ने सुविधा हटाउनाले एप्पलको एप स्टोर र गुगल प्ले स्टोरका नियम र सर्तहरूको उल्लंघन हुन सक्छ।
दुबै स्टोरका सर्तहरूले सामाजिक सञ्जाल एपहरूले आफ्ना प्रयोगकर्ताहरूलाई उत्पीडन वा धम्की दिने पोस्टहरू फिल्टर गर्ने क्षमता प्रदान गर्नुपर्छ भनी बताउँछन्।
यदि यस्तो भयो भने प्रयोगकर्ताहरूले स्टोरबाट एक्स डाउनलोड गर्न सक्ने छैनन्।
गत वर्ष ४४ बिलियन डलरमा ट्विटर मालिक बनेका मस्कले यस प्लेटफर्ममा निकै परिवर्तन गरेका छन्। धेरै प्रयाेगकर्ताहरू मस्कले गरेका परिवर्तनको विरोध गर्दै आइरहेका छन्।