गोविन्द पोखरेल
काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रका १ सय ७ स्थान बाढीको उच्च डुबानमा रहेको पाइएको छ । महानगरपालिकाले प्रारम्भिक रुपमा विभिन्न वडाहरुको डुबानग्रस्त क्षेत्रको लगत तयार गर्दै १ सय ७ स्थानको पहिचान भएको हो ।
बर्सातको पानी, ढल ओभरफ्लो हुँदा, खहरे खोला, पानीको बहाब बढ्दा, वर्षाको पानीको निकास पूर्ण रुपमा नहुँदा, भेल र ढल निकास नभएका कारणले गर्दा महानगरका धेरै जसो क्षेत्रहरू डुबानमा पर्ने गरेको महानगरको विपद् व्यवस्थापन विभागका प्रमुख देवेन्द्र पोखरेलले जानकारी दिए । पोखरेलका अनुसार प्रारम्भिक रूपमा वडाहरूबाट ९५ स्थानमा डुबानको समस्या झेलिरहेका छन् । बाँकी विवरणहरू महानगर आफैंले तयार गरेको हो ।
वडा नम्बर ४ मा विभिन्न ७ स्थानमा खहरेसँगै आउने ढलले डुबान हुने गर्छ । गत साउन २ गते सो वडामा पर्ने इच्छुमती मार्ग–चिनियाँ दूतावास पश्चिम,तल्लो बालुवाटार क्षेत्र ढलका कारण डुबानमा परेको महानगरको विपद् व्यवस्थापन विभागले उपलब्ध गराएको विवरणमा उल्लेख छ । साउन १ गते बर्सातसँगै खहरे खोलाका कारण वडा नम्बर ६ मा पाटीटार, सरस्वती नगर, शान्तिनगर, रामनगरलगायतका स्थानमा डुबानमा परेको थियो । वर्षाका कारण कुमारी गाल, गौरीघाट, गंगाहिटी, गोपीकृष्ण, साततले एरिया क्षेत्रमा डुबानमा पर्दै आएको छ । विपद् व्यवस्थापन विभागका अनुसार वडा नम्बर ८ मा पर्ने पन्चकन्या टोल र गुहेश्वर टोल क्षेत्रमा बौद्ध हुँदै आउने आकाशे पानीका कारण डुबानमा पर्ने गरेको छ ।
यस्तै, वडा नम्बर १६ मा पर्ने सोह्रखुटे गणेस्थान मार्गभित्रको क्षेत्र, ऐराहिटी, ढुंगेधारा क्षेत्र, खरिबोट क्षेत्र वर्षा हुनेबित्तिकै डुबानमा पर्ने गर्छ । विष्णुमती नदीमा बहाव बढ्दा १६ र १७ नम्बर छुट्याउने नयाँ पुलदेखि प्रहरी बिटसम्म, क्वाःबहाल, ढल्कोस्थित बुद्ध गल्ली क्षेत्र डुबानमा पर्ने गर्छ । कालोपुलदेखि रातेपुलसम्म डिल्लीबजार पिपलबोटदेखि सेतोपुल क्षेत्रसम्म वर्षातको पानी पूर्ण रुपमा निकास नहुँदा जनतामार्ग, पञ्चकुमारी मार्ग, पवन मार्ग, सहिद मार्गलगायतका क्षेत्रमा डुबानमा पर्छन् ।
विपद्को पूर्वतयारी तथा प्रतिकार्यका लागि भनेर महानगरले विपद् व्यवस्थापन कोष पनि बनाएको छ । कुनै स्थानमा तत्काल डुबान भए तत्कालनै राहत वितरण भने महानगरले गरेको छैन । यस्तै, स्तरसम्म विपद् व्यवस्थापन समिति गठन गरिएपछि उनीहरूलाई त्यससम्बन्धीको ज्ञान नै नभएको पाइएको छ । विपद् व्यवस्थापन विभागका अनुसाार हालसम्म सो समितिमा रहेका सदस्य तथा पदाधिकारीहरलाई विपद् र त्यस सम्बन्धीको कुनै सामान्य जानकारी एवं प्रशिक्षण नै दिइएको छैन । ‘वडा तहसम्म विपद् व्यवस्थापनसम्बन्धी समिति बनाइएको रहेछ तर त्यससम्बन्धी प्रशिक्षण दिइएको छैन रैछ,’ पोखरेलले भने ।
महानगर क्षेत्रभित्र प्राकृतिक तथा गैरप्राकृतिक विपद्बाट सर्वसधारणको जीउज्यान र सार्वजनिक, निजी तथा व्यक्तिगत सम्पत्ति, प्राकृतिक एवं सांस्कृतिक सम्पदा र भौतिक संरचनाको संरक्षण गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका सबै क्रियाकलपाको समन्वयात्मक र प्रभावकारी रूपमा कार्यान्वयन गर्न भन्दै २०७५ सालमा ‘काठमाडौं महानगरपालिका विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन’ ल्यााएको छ ।
हाल महानगरले विपद् जोखिम तथा न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धमा वार्षिक कार्ययोजना बनाइरहेको छ । ‘एउटा कार्यायोजना तथा नीति त बनाइएको छ तर विस्तृत रूपमा विवरणहरू छैन । अब यो नयाँ कार्ययोजनामा सबै विषयहरू समावेश हुन्छन्,’ पोखरेल भन्छन् ।
उसो त काठमाडौंमा भारी वर्षा भएर डुबानको स्थिति आए सुरक्षित स्थानमा पीडितहरूलाई राख्ने ‘रिह्याबिलिटेसन सेन्टर’ छैन । महानगरले पार्क तथा खुला क्षेत्रहरू निर्माण गरिरहे पनि भारी वर्षा आउँदा पीडितहरूलाई राख्न त्यस्ता स्थान उपयुक्त मानिदैन । तिनको विकल्पमा महानगरले विद्यालय तथा पार्टी प्यालेसहरू प्रयोग गर्ने रणनीति अख्तियार गरेको देखिन्छ ।
‘हामीसँग त्यस्तो ठूलो विपद् आएर सुरक्षित स्थानमा पीडितहरूलाई राख्ने ठाउँ छैन । त्यसको विकल्पमा पार्टी प्यालेसहरूमा राख्ने भनेर एक किसिमको समझदारी भएको छ,’ विभागीय प्रमुख पोखरेले भने । यस्तै, विद्यालयहरू पनि प्रयोग गर्न सकिने उनको भनाइ छ । महानगरले डुबान हुन सक्ने घरहरूको सर्भे पनि गर्ने तयारी गरेको उनले जानकारी दिए ।
‘अहिलेसम्म हामीलाई कति घरमा बाढी पस्छ र कति प्रभावित हुन्छन् भन्ने जानकारी छैन । तर अब तथ्यांक संकलन गरेर तयारी गर्छौं,’ विभागीय प्रमुख पोखरेलले भने । विपद् व्यवस्थापन विभागमा कम कर्मचारी हुँदा काम गर्न नसकेको उनको गुनासो छ । अहिले एक जना निर्देशकसहित ५ जना मात्रै कर्मचारी भएकाले काम गर्न गाह्रो भएको उनले बताए । इ कान्तिपुर