काठमाडौं / नेकपा एकता रााष्ट्रिय अभियानका अध्यक्ष एवम् राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेपालको भौगर्भिक र भू–सतहको अध्ययन गर्नुपर्ने सुझाव गर्नु भएको छ।साउन ३२ गते बिहीबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै गौतमले उक्त सुझाव राख्नु भएको हो ।
उहाँले नेपालको भू–सतह चलायमान रहेको उल्लेख गर्दै भू–सतहको अध्ययन गरेर मात्रै जमिनको प्रयोग गर्नुपर्नेमा जोड दिनु भएको छ । अध्ययन गरेर मात्रै कृषि उत्पादन गर्नुपर्नेमा पनि उहाँले जोड दिनु भयो ।
गौतमले जथाभावी जमिनमा खनजोत गर्न नहुने भन्दै जतिधेरै डोजरको प्रयोग गरिन्छ उति नै प्राकृतिक प्रकोपको खतरा रहेको उल्लेख गर्नु भयो। आगामी सोह्रौं आवधिक योजनामा भौगर्भिक र भू–सतहको अध्ययन गर्ने विषय समेट्नुपर्ने उहाँको भनाइ छ।
नेपालमा उत्पादन भएका कृषि उपजको सही तरिकाले प्रयोग गर्न सके आत्मनिर्भर भइने दाबी पनि उहाँको रहेको छ । नेपालमा उत्पादित खाद्यान्नको सही तरिकाले उत्पादन गर्न नसक्दा बाहिरबाट आयात गर्नुपर्ने अवस्था आएको उहाँको भनाइ रहेको छ।