काठमाडौँ / नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका उडाउने गिरोहको एउटा मुख्य केन्द्र इटहरीको गोकुलम रिसोर्टसम्म धाएर गिरोहका नाइकेसँग बातचित गर्दै भरोसा बटुल्ने र अरु सहयोगीमार्फत ठूलो धनराशि बुझाउनेमध्येका पाँचथर, ताप्लेजुङसहितका पीडितहरु जाहेरी बोकेर बल्ल प्रहरी, प्रशासनसामु आएका छन् ।
पीडितहरुले आफ्नो समूहबाट झण्डै १ करोड ८५ लाख रुपैयाँ ठगी गरेको जाहेरीमा उल्लेख गरेका छन् । रकम बुझाएको प्रमाणस्वरुप पुरानो मितिको एउटा चेक रामशरण केसीले आफूलाई उपलब्ध गराएको र त्यही चेकसहितका कागजात कारबाही प्रक्रिया अघि बढाउन काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा बुझाइएको जाहेरीकर्ता राजु तामाङले बताए ।
‘हामीजस्ता पीडितको पनि जाहेरी परिसकेको छ, अहिले चुपै लागेर बस्नु भनेर एकजना जाहेरीकर्ताले सुनाएका थिए,’ पाँचथर घर भएका जाहेरीकर्ता तामाङले कान्तिपुरलाई भने, ‘अहिले नक्कली शरणार्थीको मुद्दा अघि बढेपछि र प्रहरी प्रशासनमा बुझी हेर्दा हाम्रो नाम नरहेको थाहा भयो । अनि हामीले मिलेर जाहेरी दियौं ।’ आफ्नो समूहमा ७ जना पीडित रहेको र यो समूहले ५ लाख रुपैयाँदेखि १५ लाखसम्म सहयोगी भनेर रामशरण केसीलाई नगदै बुझाइएको तामाङले जानकारी दिए ।
तामाङका अनुसार, यो समूहमा तुला लिम्बू (इटहरी), सिता थापा (इटहरी), छिरिङ शेर्पा (ताप्लेजुङ)सहितका पीडित छन् । यस्तै, अर्को पीडित समूहमा श्याम श्रेष्ठसहितका चितवनका ८ जना र कुन्दन देवानसहितको अर्को समूहसमेत उजुरी दिनेमा छन् । यसरी विभिन्न समूहले उठाएको पैसा नक्कली शरणार्थीको गिरोहका नाइके केशव दुलाल, सानु भण्डारीले इटहरीमा बुझ्ने गरेको पीडितले बताए । ‘अब शरणार्थी कार्डका लागि फोटो खिच्ने भन्दै फर्महरु भराएका थिए, तर अरुहरुले पाएजस्तो शरणार्थी कार्ड भने हामीले पाएनौं,’ लमजुङ घर बताउने अर्का पीडितले बताए ।
१८ जनाको समूहबाट अलगअलग दिइएको जाहेरीमा, अहिलेसम्म बयानमा आइनसकेका तर प्रभावशाली राजनीतिक पहुँचका जोडिएका व्यक्तिसमेतको नाम उल्लेख भएको एक पीडितले बताए । ‘यो छानबिन पनि यसअघि भएझैं तवरमा अघि बढेमा धेरै नयाँ कुरा बाहिर आउन सक्छ, अब के-कसरी अनुसन्धान अघि बढ्नेछ भन्दै पर्खिबसेका छौं,’ गोरखा घर भएका अर्का पीडितले बताए । उनले अनुसन्धानको प्रक्रिया विश्वासिलोरुपमा अघि बढ्मा पर्वत, म्याग्दी, मुस्ताङदेखिका गुरुङ समुदाय पनि जाहेरी लिएर आउन सक्ने जानकारी दिए ।
यसैबीच, नक्कली शरणार्थी मुद्दाअन्तर्गत पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको गत असार १ गतेको आदेश बदर गर्न माग गर्दै प्रतिवादीले दिएको निवेदनको कैफियत प्रतिवेदनमाथि बिहीबारबाट सुनुवाइ हुने भएको छ । सुनुवाइको पहिलो चरणमा हाल कैफियत प्रतिवेदन आइसकेका तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, कांग्रेस नेता आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, गिरोहका नाइके सानु भण्डारी, सन्देश शर्मासहित १० जनाको कैफियत प्रतिवेदनमा सुनुवाइ हुन लागेको हो । हाल पुर्पक्ष थुनामा रहेका यी प्रतिवादीले थुना बाहिरबाटै मुद्दा लड्न पाउनुपर्ने जिकिर गरेका छन् ।