अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले २०२० को राष्ट्रपति निर्वाचनमा धाँधली गरेको अभियोगमा जर्जियाको फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गर्नसक्ने स्थानीय अधिकारीहरुले अपेक्षा गरेका छन्। यद्यपि पूर्वराष्ट्रपति ट्रम्पले उनलाई दिइएको अगस्ट २५ को समयसीमाअगावै आत्मसमर्पण गर्ने योजना सार्वजनिक रूपमा संकेत गरेका छैनन्।
जर्जियाको यस जेलले उनलाई आफैँ उपस्थित हुन अगस्ट २५ को समयसीमा दिएको छ।
‘अहिले जिल्ला सरकारी वकिलको कार्यालय र प्रधानन्यायाधीशबाट प्राप्त निर्देशनका आधारमा अभियोगमा नाम दर्ता भएका १९ जना प्रतिवादीलाई मुद्दा चलाइने अपेक्षा गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ। विज्ञप्तिमा जेलको ढोका आत्मसमर्पणका लागि २४ घन्टा र सातै दिन खुला रहेको पनि भनिएको छ।
जर्जियामा राष्ट्रपतीय निर्वाचनका क्रममा रिपब्लिकन उम्मेदवार ट्रम्पसहित १९ जनामाथि धाँधलीको अभियोगमा उजुरी परेको छ। यही उजुरीको मुद्दाका लागि आत्मसमर्पण गर्न अमेरिकी अधिकारीहरुले ट्रम्पलाई घुमाउरो भाषामा चेतावनी दिएका हुन्।
फुल्टन काउन्टीमा अभियोग लगाइएका अधिकांश प्रतिवादीहरूलाई सामान्यतया: फुल्टन काउन्टी जेलमै राखिन्छन्।
फुल्टन काउन्टीका अधिकारी प्याट ल्याबटले यसअघि नै ट्रम्प चुनाव विद्रोहको मुद्दामा अभियोग लगाइएका सबै प्रतिवादीहरूलाई अन्य प्रतिवादीलाई जस्तै व्यवहार गरिने स्पष्ट पारिसकेका छन्।
‘कसैले नभनेसम्म हामी सामान्य अभ्यासहरू पछ्याउनेछौं,’ उनले सीएनएनसँग भनेका छन्।