काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन काण्डबारे छानबिन गर्न सरकारले भारत, चीन र इन्टरपोलसँग सहयोग मागेको बताएका छन्।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्पादकहरुसँगको कुराकानीमा दाहालले सुन तस्करी काण्ड जटिल भएकाले यसको अनुसन्धानका लागि छिमेकी देशहरुसहित इन्टरपोलको समेत सहयोग मागिएको जानकारी दिएका हुन्। उनले भने, ‘सुन काण्डमा अरु देशका नागरिकहरु पनि जोडिएका छन्। अनुसन्धानका लागि सरकारले चीन र भारतको पनि सहयोग चाहिएको छ। हामीले दुवै मुलुकहरुसँगै इन्टरपोलसँग पनि छानबिनको सहयोगका लागि आग्रह गरेका छौँ।’
प्रधानमन्त्री दाहालले विपक्षी एमालेबाट सुन काण्डको छानबिनमा सहयोग नभएको गुनासो गरे। उनले भने, ‘दुर्भाग्य राम्रो काम गर्दा सहयोग त परको कुरा विपक्षी संसद विघटनको मानसिकताबाट अवरोध गरिरहेको छ।’
सम्पादकहरुसँगको कुराकानीमा एमाले अध्यक्ष केपी ओलीको नाम नलिए पनि उनले ‘संसद विघटनको मानसिकता’ बाट बाहिर आउनु नसकेको भन्दै ओली जोडिएका विषयमा पनि छानबिन गर्ने संकेत गरे।
ओलीले गिरिबन्धु टी स्टेट प्रकरणलाई पनि छानबिनको दायरामा ल्याउने उल्लेख गरे। ललिता निवास जग्गा प्रकरण देशभरका सार्वजनिक जग्गा संरक्षणको अवसरका रुपमा आएको उनको भनाइ थियो।
दाहालले भने, ‘ललिता निवास प्रकरणलाई अवसरको रुपमा लिएका छौँ। देशभरका सरकारी जग्गाको प्रतिक्रमणलाई रोक्न सरकार तयार छ। गिरिबन्धु स्टेटको पनि कुरा छ। त्यसलाई पनि छानबिनको दायरामा ल्याउनुपर्छ। ललिता निवास मात्रै होइन।’
उनले सुन तस्करीमा लागेका कोही पनि उम्कन नपाउन् भनेर आफूले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई भनेको दाबी गरे। माओवादी नेता कृष्णबहादुर महरालाई समेत छानबिनमा ल्याउन आफूले भनेको दाहालले बताए।
सम्पादकहरुसँग खुलेर समसामयिक विषयमा कुरा गरेका प्रधानमन्त्री प्रचण्डले भने, ‘तस्करीमा कोही पनि दोषी नछुट्ने अवस्था छैन। सिआइबीको छानबिनलाई सयोग गर्न सरकार तयार छ। मैंले सिआइबीलाई भने कि महराजीको संलग्नता छैन भन्नुहोस् नत्र उहाँलाई बयान लिनुहोस्। गृहमन्त्रीसँग समेत बसेर भन्यौँ। सिआइबीलाई दोहोरो मापदण्ड नअपनाउनुहोस् भनेको छु।’
सुन तस्करी प्रकरणको अनुन्धान राजश्व अनुसन्धान विभागबाट सिआइबीमा लानुका पछाडि अनुसन्धानमा जटिलता देखिएका कारणले भएको प्रधानमन्त्रीको दाबी छ। उनले भने, ‘अन्तर्राष्ट्रिय खालको जटिल संलग्नता रहेकाले अनुसन्धानलाई विभागबाट सिआइबीमा लगिएको हो।’
ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि समेत अनुसन्धान गर्न सर्वोच्चले जारी गरेको आदेशप्रति उनले शंका व्यक्त गरे।
‘सर्वोच्चको आदेशले लक्षित गरेको छ। यसमा कसैले खेलेको हो कि?’ प्रधानमन्त्री दाहालले अगाडि भने, ‘मन्त्री सचिवसम्म गिरफ्तार भइसकको अवस्थामा, बिचैमा अदालतले त्यहाँ पनि जाऊ, प्रधानमन्त्रीसम्म जाऊ भन्ने अवस्था किन आयो होला?’
दाहालले विपक्षी एमालेलाई संसदका तीनवटा समिति दिँदा पनि विघटनकारी मानसिकताका कारण बालुवाटारबाट बानेश्वर पुग्दा कुरा फेरिएको आरोप लगाए। ‘राजनीतिक प्रणालीलाई नेताहरुले बिगारे, विघटन नफस्टाओस् भन्नेमा सरकार चिन्तित छ, ‘ दाहालले अगाडि भने, ‘विपक्षीलाई तीनवटा समिति दिऔँ। तर बानेश्वर पुग्दा परिस्थिति अर्कैै भयो।’
उनले टिआरसीसहितका विधेयकलाई प्रक्रियागत रुपमा टुङ्याउने चाहना भए पनि प्रतिपक्षीमा विघटनको मानसिकता हावी भएको आरोप दोहोर्याए।
भुटानी शरणार्थी प्रकरणपछि सचिवहरुले कामै गर्न नमान्नेसम्मको अवस्था आएको दाहालले गुनासो गरे। दाहालले भने, ‘भुटानी शरणार्थी प्रकरणपछि सचिवहरु हस्ताक्षर गर्न मान्दैनन्। राजनीतिक नेतृत्व र कर्मचारीको सम्बन्धन बिग्रिए के होला? मैले गर्न सकिन भने कसैले सक्दैन।’
भारतीय नोटको भाउ घट्नुका पछाडि सुनको विषय जोडिएको उनको भनाइ थियो।
दाहालले आफ्नो कार्यकाल भरी नागरिकको गोप्य सूचना रेकर्ड गर्ने गरी कुनै काम नहुने उल्लेख गरे। ‘फोन रेकर्ड गर्ने कुरा म हुँदासम्म हुँदैन,” उनले भने।
प्रधानमन्त्रीले गौरहत्याकाण्डको छानबिन कानुनसम्मत ढंगले अघि बढ्ने जानकारी दिए।
उनले आफू सेप्टेम्बर १६ मा अमेरिका जाने र २१ तारिखमा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यतालिका बनेको बताए। अमेरिकाबाट सोझै सेप्टेम्बर २३ २४ र २५ तारिखमा चीन भ्रमणमा जाने जानकारी उनले दिए।
चीन भ्रमणका क्रममा अन्तरदेशीय प्रशारणलाइन रसुवा र किमाथाङ्का बनाउने सम्झौता हुने दाहालको भनाइ थियो। किमाथाङ्कामा हाइड्रो पावरको बनाउने सम्झौता पनि हुने छ।
दाहालले भने, ‘बिआरआइको प्रोजेक्टले एउटा ग्राण्ट दिएपछि अरु योजना दिन्छौँ। भारत र चीन, संवेदनशील अवस्थामा छौँ। छिमेकसँग सन्तुलित र जनतालाई विश्वासमा लिनु आवश्यक छ। पञ्चेश्वरको डिपिआर बनेको छ। केही दिनमा सार्वजनिक हुन्छ।’
रास्वपा खहरे
प्रधानमन्त्रीले रास्वपालाई खहरेको संज्ञा दिए। बेला बेलामा खहरे आए पनि यो लामो समय नरहने उनेको भनाइ थियो। ‘नयाँ पार्टी खहरे खोला हो, म चितवनबाट गोरखा जानुपर्यो भने खहरे आउँछ, जान्छ,’ उनले भने।