ललितपुर । ललितपुर उपमहानगरपालिका मातहतमा देशभरिका तुलनामा सबैभन्दा महंगा स्कुलहरु संचालनमा छन् । स्कुल संचालकहरुमा ठुला व्यापारिक घरानाहरु र राजनीतिक आवरणका व्यक्तिहरु पनि रहेका छन् ।
एक जना पूर्वमन्त्रीले संचालन गरेको धोबिघाटस्थित आइडियल मोडल स्कुलले विद्यार्थीहरु माथि ठुलो आतंक सृजना गरेको छ । विद्यार्थीका अभिभावक र विद्यार्थीहरुका नाममा पत्राचार गर्दै स्कुलले श्रावण महिनासम्मको शिक्षण शुल्क श्रावणकै मसान्तसम्म भुक्तानी नगरे भाद्र १ गतेदेखि स्कुलको रजिस्टरबाट विद्यार्थीको नाम हटाइने चेतावनी पत्रमा लेखिएको छ । यस्तो पत्र स्कुलले संचालन गरेको छात्राबासमा बस्ने विद्यार्थीहरुलाई समेत दिइएको छ । जनधारणा साप्ताहिकलाई प्राप्त आइडियल मोडल स्कुलले लेखेको पत्रहरुमा एक महिनादेखि दुई, तीन, चार महिनासम्मका शुल्कसमेत उल्लेख गरिएका छन् । श्रावण मसान्तसम्म शुल्क नबुझाए रजिस्टरबाट विद्यार्थीको नाम हटाइने चेतावनी दिइनुको कारणबारे बुझ्दा स्कुल सञ्चालकहरुले सरकारबाट लागू गर्न खोजिएको नयाँ शिक्षा ऐनका विरुद्ध भाद्र १ गतेदेखि शैक्षिक हड्ताल गर्ने घोषणा गरेका थिए । त्यही कारणले श्रावणसम्मको शुल्क अशुल गर्ने अभियान अन्तर्गत यस्तो पत्राचार गरिएको जानकारीमा आएको छ । शैक्षिक माफियाहरुले विद्यार्थीहरुलाई कसरी लुटिरहेका छन् भन्ने सानो उदाहरणका रुपमा यो पत्रले पनि स्पष्ट गर्छ ।
शैक्षिक माफियाहरुको यस्तै बेथितिलाई नियणन्त्र गर्न सरकारले नयाँ शिक्षा ऐन तयार गरेर लागू गर्न प्रयास गर्दा शैक्षिक माफियाहरु आन्दोलनमा उत्रिएका थिए । सरकारले विद्यार्थीहरुको पठन पाठनलाई मध्यनजर गरी शैक्षिक माफियाहरुसँग सम्झौता गरेको छ । तत्काल ऐन लागू नहुने सम्झौता भएको बुझिएको छ । स्कुलहरुलाई व्यापारिक थलो बनाउँदै आएका शैक्षिक माफियाहरुले विद्यार्थीहरु माथि आतंक सृजना गरेका छन् । स्कुलभित्रै रेष्टुरेण्ट, स्कुलभित्रै पुस्तकका पसल, स्कुलभित्रै स्टेस्नरी, स्कुलभित्रै स्कुल पोशाकका पसल सञ्चालन भइरहेका छन् । यसो गर्दा स्कुल सञ्चालक शैक्षिक माफियाहरुले विद्यार्थीहरुको पढाइलाई भन्दा व्यापारलाई महत्व दिएका पाइन्छ । पूर्वमन्त्री समेत रहेका उमेश श्रेष्ठले सञ्चालन गरेको आइडियल मोडल स्कुलमा भइरहेको विद्यार्थीमाथिको यस्तो आतंक विरुद्ध उजुरी कहाँ गर्ने ? विद्यार्थीहरु अन्यौल अवस्थामा छन् ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौं महानगरभित्र सञ्चालनमा रहेका स्कुलहरुमा कक्षा ११ को लागि महानगरपालिकाबाट विद्यार्थीहरु छनौट गरी छात्रबृत्तिका लागि सिफारिस गरेका छन् । स्कुल सञ्चालकहरुलाई विद्यार्थीहरुमाथि शोषण गर्ने प्रवृत्तिको अन्त्य गर्नका लागि पनि मेयर बालेन शाहले आफ्नो प्रयास जारी राखेका छन् । तर सबैक्षेत्रमा प्रशंशा पाइरहेका ललितपुर उपमहानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफ्नो उपमहानगर मातहत सञ्चालित स्कुलहरुबाट भइरहेको लूटको अन्त्य तर्फ ध्यान दिन सकेको पाइएको छैन । अभिभावकहरुको व्यापक गुनासो भइरहँदा पनि आफ्नो जिम्मेवारीमा रहेको क्षेत्रलाई नियमन गर्न नसक्नु उपमहानगरको कमजोरी देखिएको छ ।