काठमाडाैँ / डुरान्ड कपका लागि भारत पुगेको विभागीय क्लब त्रिभुवन आर्मी आफ्नो दोस्रो खेलमा भारतिय क्लब चेन्नईयनसँग पराजित भएको छ। यसअघि पहिलो खेलमा दिल्ली एफसीसँग १–१ गोलको बराबरी खेलेको आर्मी दोस्रो खेलमा भने पराजित भयो।
सोमबार गुवाहाटीमा भएको खेलमा आर्मी चेन्नइयनसँग ३–० को फराकिलो अन्तरले पराजित भयो। चेन्नइयनका लागि फारुकीले २२ औं मिनेटमा पहिलो गोल गर्दा रहिम अलीले ४० मिनेटमा पेनाल्टीमार्फत टिमको अग्रता दोब्बर पारेका थिए। चेन्नइयनका लागि क्रिभेल्लारोले ८४ मिनेटमा तेस्रो गोल गर्दा आर्मीले भने विपक्षी पोस्टमा गोल गर्न सकेन्।
यसअघि बुधबार आसाममा भएको खेलमा आर्मी दिल्ली एफसीसँग एक एक गोलको बराबरीमा रोकिएको थियो। समूह ‘ई’ मा रहेको आर्मीले अब आफ्नो अन्तिम खेलमा आइएसएल टिम हैदरावादसँग ५ भदौमा प्रतिस्पर्धा गर्नेछ।
६ समूहका २४ टिमबीच भारतका विभिन्न शहरमा खेल भइरहेका छन्। ६ समूहका शीर्ष टिम र दुई उत्कृष्ट उपविजेता क्वाटरफाइनलमा प्रवेश गर्नेछन्। प्रतियोगिता भदौ १७ मा सकिनेछ।