काठमाडौं / सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुशासन कायम गर्न र सेवा प्रवाहलाई गुणस्तरीय बनाउन अब कुरा होइन, काम गर्नुपर्ने बेला आएको बताएकी छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०७९/०८० को बार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्रालय माताहतका सबै निकायलाई हरेक महिनाको प्रगति विवरणको ‘रिपोर्ट कार्ड’ बनाएर पेस गर्न पनि उनले निर्देशन दिइन् ।
हाल सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत आम सञ्चार, सूचना प्रविधि, दूरसञ्चार, चलचित्र, मुद्रण र हुलाक सेवा गरी ६ क्षेत्र तथा विभिन्न १८ वटा संस्थान र निकाय रहेका छन् ।
आफूले प्रधानमन्त्रीसँग हरेक महिना मन्त्रालयको प्रगति विवरण रिपोर्ट कार्डको रुपमा पेस गर्ने कार्य सम्पादन सम्झौता गरिसकेको उल्लेख गर्दै मन्त्री शर्माले भनिन्, “मेरो कार्य सम्पादन भनेकै तपाईँहरुका क्षेत्र, संस्थान र निकायहरुबाट हुने हो । त्यसैले मन्त्रालय माताहतका सबै क्षेत्र, संस्थान र निकायलाई हरेक महिनाको प्रगति विवरण रिपोर्ट कार्डको रुपमा पेस गर्न आग्रह गर्दछु ।”
गत आर्थिक वर्षमा मन्त्रालायको पूँजीगत खर्च ६० प्रतिशत पुुग्न नसकेकोप्रति प्रश्न गर्दै मन्त्री शर्माले आफैले बनाएका योजनाहरु किन कार्यान्वयन हुँदैनन् ? भनेर प्रश्न गरिन् ।
“हामी जिम्मेवारीमा बसेका मान्छेहरुको पञ्छिने बानी छ, यो राम्रो होइन । हरेक निकाय र जिम्मेवार अधिकारीहरुले आत्मसमीक्षा गरेर प्रगतिको मूल्यांकन गर्नुपर्छ,” उनले भनिन्, “अरु कुनै कारण वा कसैले गर्दा भएन भन्न पाइँदैन । हामीले सबैले कोकसको कति कमजोरी हो खोजी गरौँ । तर, चालु आर्थिक वर्षमा बहानाबाजी गरेर पूँजीगत खर्च नबढाउने छुट हामी कसैलाई छैन ।”
पहिले आम सञ्चार क्षेत्रका काम बढी हुने बेलामा सञ्चार मन्त्रालय सरकारको प्रचार मन्त्रालयको रुपमा मात्र रहने गरेको भए पनि अहिले सञ्चारभन्दा बढी सूचना प्रविधिको काम थपिएकाले अब काम गर्ने र प्रचार गर्ने दुुवै दायित्व यो मन्त्रालयसँग रहेको पनि उनले स्पष्ट गरिन् । अब सूचना प्रविधि नै नेपालमा सबैभन्दा धेरै राजस्व संकलन गर्ने क्षेत्र बन्ने उल्लेख गर्दै उनले यसका लागि पूर्वाधार र जनशक्ति विकासमा विशेष ध्यान दिनुपर्ने बेला आएको बताइन् ।
मन्त्री शर्माले कर्मचारीहरुलाई राजनीतिक नेतृत्वसँग खुलेरै छलफल गर्न र पाएको जिम्मेवारी कार्यान्वयन गर्न पनि आग्रह गरिन् । राजनीतिक र प्रशासनिक नेतृत्वबीच तालमेल मिलेन भने विकास, निर्माण र सेवा प्रवाहले गति नलिने स्पष्ट गर्दै उनले यसमा सबैले ध्यान दिनुपर्ने बताइन् ।