फ्रान्सका पिएसजी स्टार केलिएन एम्बाप्पे अन्ततः क्लबको प्रशिक्षणमा फर्किने पक्का भएको छ। पिएसजीले यसअघि एम्बाप्पेलाई आफ्नो मुख्य टिमसँग प्रशिक्षणको अनुमति दिएको थिएन भने उनलाई पहिलो खेलमा बेन्चमा सीमित गरेको थियो।
तर, एम्बाप्पे र क्लब प्रतिनिधिबीच छलफल भएपछि आइतबारबाट उनी पिएसजीको मुख्य टोलीसँगै प्रशिक्षणमा फर्किन लागेको क्लबले जनाएको छ।
शनिबार राति भएको सिजनको पहिलो खेलमा एमबाप्पेलाई बेन्चमा राखेको पिएसजी लोरिएन्टसँग गोलरहित बराबरीमा रोकिएको थियो। उक्त खेलमा एम्बाप्पेलाई टिममा सहभागी गराइएको थिएन। पिएसजीले एम्बाप्पेलाई यो सिजन बेच्न निकै प्रयास गरिरहेको छ। उनी आगामी सिजन फ्री ट्रान्सफर हुने भएकाले यसै सिजन क्लब उनलाई बेच्न प्रयासरत रहेको छ।
तर, एम्बाप्पे भने आफ्नो अन्तिम एक वर्षे सम्झौताअनुसार उनी पिएसजीमा नै यो सिजन बसेर अर्को सिजन फ्री ट्रान्सफरमा रियल म्याड्रिड जाने सोचमा रहेका छन्। क्लबले उनलाई कि सम्झौता लम्ब्याउन या क्लबले बेच्दा तयार हुन निर्देशन दिएको थियो। तर, एम्बाप्पेले भने क्लबको उक्त प्रस्ताव नस्वीकार्दा क्लब र एम्बाप्पेबीच गहिरो मतभेद भएको थियो।
एम्बाप्पेसँग असन्तुष्टिकै कारण पिएसजीले उनलाई प्रि–सिजनको एशिया भ्रमणमा साथमा लगेको थिएन भने टिमको मुख्य खेलाडीहरुसँग प्रशिक्षणको अवसरसमेत दिएको थिएन। तर, क्लबसँगको छलफलपछि आइतबार उनी टिमको प्रशिक्षणमा सहभागी हुँदैछन्।
सिजन सुरु हुनुअघि साउदी क्लब अल–हिलालले विश्व कीर्तिमानी २ सय ५९ मिलियन पाउन्डको प्रस्ताव पिएसजीसँग गरेको थियो। तर, एम्बाप्पेले उक्त प्रस्ताव अस्वीकार गरेपछि पिएसजी झनै चिडियो। उनलाई फ्रिमा गुमाउन नचाहेको पिएसजीले के सम्झौताका आधारमा पुनः अभ्यासमा फर्काएको भन्ने खुलेको छैन।
यद्यपि, क्लबले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘पीएसजी र एम्बाप्पेबीच लोरिएन्टसँगको खेलअघि धेरै सकारात्मक र निर्णायक छलफलहरु भए, जसका कारण उनलाई आइतबार बिहान टिमसँगै अभ्यासका लागि अनुमति दिइएको छ।’
पिएसजीले आगामी शनिबार टौउलौउससँग प्रतिस्पर्धा गर्दैछ। प्रशिक्षणमा बोलाएसँगै उनी उक्त खेलबाट मैदान फर्किने अनुमान गरिएको छ। यद्यपि, उनी मैदान फर्किने विषयमा भने पिएसजीले आधिकारिक रुपमा केही खुलाएको छैन।