काठमाडौँ – महिला विश्वकप फुटबलमा यो संस्करणमा नयाँ टिम विश्व च्याम्पियन बन्ने पक्का भएको छ। २०११ को विश्व विजेता जापान क्वार्टरफाइनलमा स्वीडेनसँग २–१ ले पराजित भएसँगै जारी संस्करणमा नयाँ टिमले विश्वकप उपाधि जित्ने पक्का भएको हो।
यसअघि सर्वाधिक ४ पटकको विश्व विजेता अमेरिका स्वीडेनसँग पराजित हुँदै नकआउट चरणबाटै बाहिरिँदा अर्को च्याम्पियन नर्वेलाई जापानले पराजित गर्दै अन्तिम १६ बाटै घर पठायो। त्यस्तै, दुई पटकको च्याम्पियन जर्मनी भने समूह चरणबाटै बाहिरियो।
क्वार्टरफाइनलको दोस्रो खेलमा स्वीडेनसँग पराजित भएपछि जापान पनि प्रतियोगिताबाट बाहिरियो। योसँगै बाँकी जुन टिमले जिते पनि यो पटक नयाँ विश्व च्याम्पियन बन्ने छन्।
पेनाल्टीमा चुक्दा जापान स्तब्ध
प्रतियोगितामा जापानविरुद्ध स्वीडेनले पहिलो र दोस्रो हाफमा समान १–१ गोल गरेको थियो। जापानविरुद्ध २ गोलको अग्रता बनाएको स्वीडेनविरुद्ध जापानले खेलमा फर्किने राम्रा अवसरहरु चुकाएको थियो।
खेलको ३२ औँ मिनेटमा इलेस्टेन्डको गोलबाट स्वीडेनले खेलमा अग्रता लिएको थियो। ५१ औँ मिनेटमा एनगेलहानले पेनाल्टीबाट स्वीडेनको अग्रता दोब्बर बनाइन्।
७६ औँ मिनेटमा जापानले पेनाल्टीको मौका पाएको थियो। तर जपानकी उकीको प्रहार क्रस बारमा लागेर फर्किँदा जापान खेलमा फर्कन सकेन।
यद्यपि, ८७ औँ मिनेटमा जापानका लागि हायाशीले गोल गर्दै खेलमा फर्काउने आशा देखाइन् तर त्यसपछि थप गोल हुन नसक्दा जापान २–१ ले पराजित भयो।