काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा नेपालले भारतलाई बिजुली निर्यात गरेर कमाएको आम्दानीभन्दा भारतबाट बिजुली किनेको रकम झण्डै दोब्बर देखिएको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार सो आर्थिक वर्ष नेपालले भारतमा कुल १० अर्ब ४५ करोड रुपैयाँ बिजुली निर्यात गरेर आम्दानी गरेको छ । तर सो वर्ष नै भारतबाट नेपालले १९ अर्ब ४४ करोड रुपैयाा बराबरको बिजुली किनेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।
भारतलाई विद्युत् बिक्री गर्न बर्खामा मात्रै पर्याप्त उत्पादन हुने तर हिउँदमा उतैबाट आयात गर्नुपर्ने बाध्यात्मक परिस्थितिका कारण निर्यात भन्दा आयात बढी देखिएको हो ।
हाल प्राधिकरणले भारतमा ४५२ मेगावाटसम्म बिजुली बिक्री गर्ने अनुमति पाएको छ । थप करिब ६ सय मेगावाट विद्युत निर्यातका लागि भारतलाई आयोजनासहित प्रस्ताव गरिएकोमा भारतको विद्युत् मन्त्रालयमा सहमतिको प्रक्रियामा रहेको घिसिङले जानकारी दिए । प्राधिकरणका अनुसार हालसम्म आन्तरिक प्रणालीको जडित क्षमता कुल २८२२ मेगावाट पुगेको छ ।
हालसम्म ८०५२ मेगावाट विद्युतको खरिदबिक्री सम्झौता भएको प्राधिकरणले जनाएको छ ।