काठमाडौँ – उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ३५ दिनभित्र सुनकाण्डको सबै विवरण सिआइबीले पत्ता लगाउने दाबी गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरुको जिज्ञासाको जवाफ दिने क्रममा उनले यस्तो दाबी गरेका हुन्।
सुन तस्करी प्रकरणमा सिआइबीबाहेक पनि अनुसन्धानको लागि छुट्टै उच्चस्तरीय समितिको माग गर्दै एमालेले साउन १० गदेदेखि संसद् अवरुद्ध गर्दै आएकोमा मंगलबार गृहमन्त्रीकै सम्बोधन सुन्न भनेर सदन चल्न दिएको हो।
सोही सम्बोधन र सांसदका जिज्ञासाको जवाफमा गृहमन्त्री श्रेष्ठले सुन प्रकरण अनुसन्धानका लागि छुट्टै समिति आवश्यक नपर्ने पनि बताए।
उनले भने,‘यसअघि सुनकाण्डमा संसदीय समिति पनि बनाएको देखियो तर निरर्थक भयो, समिति बनाएर हुँदैन। राज्यले त्यसैको लागि बनाइएको संयन्त्र (सिआइबी)लाई हामीले विश्वास गर्नुपर्छ। सिआइबी अनुसन्धानको क्रममा छ। भएन भने पछि प्रश्न गरौँ न! राज्यको जुन निकायले अनुसन्धान गर्छ र त्यसैले अभियोजन गर्छ भने त्यसैलाई दिउँ न पछि भएन, दोषी लुकाउन लागिपर्यो भने पछि बोलौँ।’
उनले दोषी पत्ता लगाएर कारबाही गर्ने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्था कडा बनाउने सरकारको अहिलेको ध्यान भएको पनि उल्लेख गरे। गृहमन्त्री श्रेष्ठले संसद् अवरोध वा विघटनका लागि नभएको बताएका छन्। उनले संसद् वादविवाद संवाद गरी जनताका आवाज मुखरित गर्दै जनताका समस्या समाधान गर्दै राष्ट्रलाई निकास दिने थलोको रुपमा रहेको उल्लेख गरे।