सिन्धुलीमाढी । सिन्धुलीको दुधौली नगरपालिकाले औलोरोग नियन्त्रणका लागि लामखुट्टे मार्ने अभियान सुरु गरेको छ । १४ वटा वडा रहेको दुधौली नगरपालिकामा औलोरोगको जोखिम रहेका कमलाखुँज क्षेत्रमा रहेका ११ वटा वडालाई दुई चरणमा विभाजन गरि विषादी छर्केर लामखुट्टे मार्ने अभियान सुरु गरेको उक्त नगरपालिकाले जनाएको छ ।
लामखुट्टेको बासस्थान रहेको, लामखुट्टेले लार्भा उत्पादन गर्ने स्थानको पहिचान गरी नष्ट गर्न अभियान थालिएको हो । नगरपालिकाका स्वास्थ्य शाखा संयोजक जगदीश मण्डलका अनुसार ‘अल्फा स्यापेरमेथ्रिन-१०’ नामक विषादी एक सातादेखि गाउँका घरमा छर्किने (स्प्रे गर्ने) काम भइरहेको छ । ४० जना स्प्रेकर्तालाई दुई समूहमा विभाजन गरी खटाएर अहिले वडा नं. ७ र ९ बाट विषादी छर्किने कार्य भइरहेको छ ।
“वडा नं. ७ मा एक जना डेङगु रोगको बिरामी देखापरेकाले त्यहीबाट विषादी छर्किन सुरु गरिएको हो,” उहाँले भन्नुभयो, “२०-२० जनाको दुई वटा टोली बनाएर परिचालन गरेका छौं ।” औलो, डेंगु र काजाजारका कीटाणु मार्न उक्त बिषादी छर्किने कार्य गरेको उहाँले सुनाउनुभयो ।
नगरपालिकाको १४ वडामध्ये वडा नं. १२, १३ र १४ बाहेक बाँकी वडामा उक्त विषादी छर्किने जनाइएको छ । वर्षेनी यसरी नै विषादी छिट्ने कार्य हुँदै आएकोले दुधौली नगरपालिकामा औलोरोगका बिरामी भने देखा नपरेका नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका अनुसार नगरमा डेङ्गुको निःशुल्क परीक्षण गरिँदै आएको छ । स्वास्थ्य शाखा र सरसफाइका कर्मचारीहरू परिचालन गरेर डेङ्गु सङ्क्रमण भएको शङका लागेमा तत्काल परीक्षण गर्ने व्यवस्था मिलाइएको छ ।
जिल्लामा पछिल्लो केहीदिन यता डेङ्गु रोगका बिरामी बढ्दै गएका र हाल एक दर्जन् भन्दा बढी डेङ्गु रोगका बिरामी रहेका स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।