महिला विश्वकप फुटबलको आयोजक राष्ट्र अस्ट्रेलिया क्वाटरफाइनल प्रवेश गरेको छ। सोमबार भएको अन्तिम १६ को खेलमा अस्ट्रेलियाले डेनमार्कलाई २-० ले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको हो।
घरेलु टोलि अस्ट्रेलियाले दर्शकले भरिभराउ सिड्नी मैदानमा डेनमार्क विरुद्ध २९ औं मिनेटमा अग्रता लिएको थियो। उसका लागि काइटलिन फोर्डले सुरुवाती अग्रता दिलाएकी थिइन। दोस्रो गोल हेइलेइ रासोले ७० औ मिनेटमा गर्दै टिमको जित निश्चित गरीन्। डेनमार्कले भने केही सिमित अवसरमा गोलको प्रयास गरेको थियो।
२०१५ पछि अस्ट्रेलिया पहिलो पटक विश्वकप फुटबलको क्वाटरफाइनल प्रवेश गरेको हो। त्यसयता ४ वटा नकआउट खेलमा अस्ट्रेलिया पराजित भएको थियो। डेनमार्क भने २००७ पछि विश्वकपमा छानिएको थियो। २८ वर्षपछि नकआउट चरण खेलेको डेनमार्कले क्वाटरफाइनल यात्रा भने तय गर्न सकेन।
अब आयोजक अस्ट्रेलियाले सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्को बिचको खेलको विजेतासँग आगामी शनिबार प्रतिस्पर्धा गर्ने छ।