काठमाडौं । ए डिभिजन क्लब मच्छिन्द्र फुटबल क्लबले एएफसी कप छनोटको प्रारम्भिक चरणमा मंगलबार घरेलु मैदानमा भुटानी क्लब पारो एफसी खेल्दैछ । नेपाली क्लबले खेल्ने एएफसीको क्लब लेभलको ठूलो प्रतियोगिता एएफसी कपमा पुग्नका लागि मछिन्द्रले प्रारम्भिक चरणमा एफसी पारोलाई प्रतिद्वन्द्वी पाएको हो ।
मच्छिन्द्र र पारोबीचको खेल साँझ साढे ५ बजे दशरथ रंगशालामा हुनेछ । लिग च्याम्पियन चर्च ब्वाइजले एएफसी क्लब लाइसेन्स प्राप्त गर्न नसक्दा उपविजेता भएपनि मच्छिन्द्रले एएफसी कपमा प्रतिस्पर्धा गर्न पाएको हो ।
मच्छिन्द्र फुटबल क्लबले एएफसी कपको प्रारम्भिक चरण छनोटको तयारी राम्रो भएकाले नतिजा सकारात्मक आउने विश्वास गरेको छ । सोमबार रंगशालामा आयोजित खेल पूर्वको पत्रकार सम्मेलनमा मच्छिन्द्रले तयारी राम्रो भएकाले पहिलो चरण पार गर्ने लक्ष्य लिएको जनाएको हो । तयारीका लागि पर्याप्त समय भएकाले पारो राम्रो टोली भए पनि सुखद नतिजा ल्याउने खेलाडी र प्रशिक्षकको भनाइ छ ।
मच्छिन्द्रले यसपटक लिग खेलेको टोलीमा राष्ट्रिय टोलीका युवा स्टारसहित ८ खेलाडी थपेको छ । मच्छिन्द्रले चर्च ब्वाइजका आशिष चौधरी, संकटाका आयुश घलान, चर्च ब्वाइजका एरिक विष्ट, थ्रीस्टारका लाकेन लिम्बू, एफसी खुमलटारका मेसुके ओलोमाउ, एपीएफका सनिश श्रेष्ठ, खुमलटारका रेजिन सुब्बा र रोहित सुब्बा भित्र्याएको छ । मच्छिन्द्र फुटबल क्लबका कप्तान विशाल श्रेष्ठले कमजोर रहेको पोजिसनमा नयाँ खेलाडी भित्र्याइएको बताए ।
मेसुकेले भने मंगलबारको खेल खेल्ने वा नखेल्ने भन्ने अझै टुंगो लागेको छैन । उनी खेल खेल्न सिक्किम पुगेका छन् । तर सोमबार बेलुकासम्म आइपुगे मंगलबारको खेल खेलाउने मच्छिन्द्रका प्रशिक्षक किशोर केसीले जानकारी दिए ।
कप्तान विशालले पारोलाई सहजरुपमा नलिने बताए । पारो भुटानको च्याम्पियन टोली रहेको बताउँदै उनले कमजोर आँक्न नमिल्ने बताएका हुन् । उनले क्लब फुटबलमा आकर्षण बढाउन पनि यो खेलले महत्व राख्ने बताए ।
यता पारोका कप्तान किन्ले वाङचुक र प्रशिक्षक पुष्पलाल शर्माले मच्छिन्द्र राम्रो टिम भए पनि आफूहरुको पनि तयारी राम्रो भएको बताए । मच्छिन्द्रले मंगलबार सफलता पाएमा आगामी अगस्ट १६ मा दोस्रो चरणमा मोहन बगान सुपर जायन्टविरुद्ध खेल्नेछ । उक्त खेल पनि जिते अगष्टमा २२ मा हुने प्लेअफको फाइनलमा क्लब इगल्स र ढाका अबहानीको विजेतासँग मच्छिन्द्रले खेल्नेछ ।