काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार ऐन छिट्टै ल्याउने तयारी भइरहेको बताउनुभएको छ । विश्व सामुदायिक रेडियो प्रसारक सङ्घद्वारा काठमाडौंमा आयोजित तीन दिने दक्षिण एशियाली सामुदायिक रेडियो सम्मेलनको आज उद्घाटन गर्नुहुँदै उहाँले आमसञ्चार ऐन मन्त्रालयले तयार गरेको र यसलाई छिट्टै मन्त्रिपरिषदमा लैजाने जानकारी दिनुभयो ।
मन्त्री शर्माले भन्नुभयो, “आमसञ्चार ऐन तयार छ । यो ऐन आएपछि रेडियोलगायत सञ्चार माध्यमको समस्या समाधान हुने छ भन्ने विश्वास छ ।” लोकतन्त्र र सञ्चार एकापसमा अभिन्न रुपले जोडिएका विषय भएको उल्लेख गर्दै उहाँले नेपालमा मात्र नभइ संसारभर नै सामुदायिक रेडियोको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
“लोकतन्त्र र सञ्चार एकापसमा अभिन्न रुपले जोडिएका विषयवस्तु हुन् । जहाँ अभिव्यक्तिको स्वतन्त्रता हुन्छ, त्यहाँ लोकतन्त्र रहन्छ । त्यसकारण अभिव्यक्तिको स्वतन्त्रता लोकतन्त्रको सुन्दर पक्ष हो”, मन्त्री शर्माले भन्नुभयो । विगतमा देशमा प्रजातन्त्र स्थापनाका लागि भएका सबै ठूलाठूला आन्दोलनलाई सफलतामा पुर्याउनका निम्ति पनि रेडियोको ठूलो भूमिका रहेको उहाँले उल्लेख गर्नुभयो ।
सामुदायिक रेडियोका जटिल समस्या, केही नीतिगत र कानुनी सुधारका पाटा रहेका र तिनको समाधानका लागि सरकारले आवश्यक पहल गर्ने मन्त्री शर्माले विश्वास व्यक्त गर्नुभयो ।
“आजको दिनमा मुलुकको अर्थतन्त्रलगायतमा आएको समस्याले गर्दा रेडियोलगायत सञ्चारमाध्यमको समस्या रहेको छ”, उहाँले भन्नुभयो, “समयमै नवीकरण र नवीकरण सहज बनाउन लाग्नुपर्ने अवस्था छ । नवीकरण शुल्क र जरिमाना शुल्क यो पटकलाई मिनाह गर्नका लागि अर्थमन्त्रालयमा पठाएका छौँ, अर्को वर्षदेखि यसलाई नीतिगत रुपमै व्यवस्था गरिनेछ ।”
सम्मेलनका दौरानमा दक्षिण एशियाली मुलुकका असल अभ्यास र नीतिको एकअर्काबीच आदानप्रदान गर्नसके सम्मेलन फलदायी हुने मन्त्री शर्माले विश्वास व्यक्त गर्नुभयो । रेडियो विगतदेखिनै जनतालाई सूचनाको भरपर्दो साधनको रुपमा विकास भइरहेको तथा कुना कन्दरामा पत्रपत्रिका र इन्टरनेट नपुगेको स्थानमा रेडियोनै सूचनाको मुख्य माध्यम बनेको उहाँले उल्लेख गर्नुभयो । सम्मेलनले आपसी सद्भाव अभिवृद्धिमासमेत भूमिका खेल्ने बताउदै उहाँले यसले दक्षिण एशियाका सरकारदेखि जनतालाई जोड्ने काम गर्नुका साथै अन्तरदेशीय सम्बन्धलाई थप प्रगाढ तुल्याउने मन्त्री शर्माले बताउनुभयो । सम्मेलनले दक्षिण एशियाको नीति सुधार्नुपर्ने विषयलाई आदानप्रदान गर्न सहज हुने उहाँको भनाइ थियो ।
विश्व सामुदायिक रेडियो प्रसारक सङ्घको एशिया प्रसान्त क्षेत्रीय अध्यक्ष रामनाथ भाटले सामुदायिक रेडियो प्रसारकको एकअर्काबीच ज्ञान आदानप्रदानका साथै आगामी रणनीतिक साझेदारिताबारे सम्मेलन उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । सम्मेलनले दक्षिण एशियाली सामुदायिक रेडियोको साझा समस्याको पहिचान नीतिगत सुधार र आगामी रणनीति तय गर्न उपयोगी हुने आयोजकको विश्वास छ । रासस