काठमाडौं– आइतबार सरकारले लुम्बिनी कोषको उपाध्यक्षमा डा ल्हारक्याल लामालाई नियुक्त गर्यो। विवादित छविका लामालाई लुम्बिनी विकास कोषको जिम्मेवारी सुम्पिएको भन्दै सामाजिक सञ्जालदेखि सबैतिर यतिबेला सरकारको आलोचना भइरहेको छ।
लामा पूर्वमन्त्री तथा पूर्व संविधान सभा सदस्यसमेत हुन्। हातहतियार, दोहोरो राहदानी लगायतका मुद्दामा पटक–पटक विवादमा तानिएका लामा अहिले नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत हुन्।
तर उनै लामाले नेकपा एमालेको सांसद हुँदा प्रचण्डलाई अशोका स्तम्भ बेचेर खानसक्नेसम्मको आरोप लगाएका थिए। बीबीसी नेपाली सेवाको साझा सवालमा आफ्नो विचार राख्ने क्रममा भनेका थिए, ‘अहिले लुम्बिनी कोषको निर्देशक समितिमा प्रचण्ड हुनुहुन्छ। अशोका पिलर नै बेचेर खाइदेलान् भन्ने मलाई डर लागिराको छ।’
अहिले प्रचण्डले तिनै लामालाई लुम्बिनी कोषको जिम्मेवारी सुम्पिए। आलोचनाका साथै सामाजिक सञ्जालमा लामाले उक्त कार्यक्रममा प्रचण्डलाई लिएर दिएको अभिव्यक्तिसमेत भाइरल भइरहेको छ।
साथै उनले ठूला राजनीतिक दलका नेताहरु कोषमा संलग्न भएको बेला डरलाग्दो स्थिति सिर्जना हुने बताएका थिए। साथै उनले पूर्व राजा ज्ञानेन्द्र शाहलाई पिपलको बोट बेचेर खाएको आरोपसमेत लगाएका थिए।
उनले भनेका थिए, ‘एउटा के डर लागिराखेको छ भने जब–जब ठूला राजनीतिक दलका नेता, राजा–महाराजा यहाँ संलग्न हुन्छन्। तब लुम्बिनिमा डेन्जर स्थिति हुन्छ। मलाई एउटा डर लागिरहेको छ। जब पूर्वा राजाले यहाँ समितिको उपाध्यक्ष के–के हुनुहुन्थ्यो पिपलको बोट बेचेर खाइदिए। अहिले प्रचण्डजी निर्देशक समितिमा हुनुहुन्छ। अशोका पिलर नै बेचेर खाइदिनुहुन्छ कि भन्ने मलाई डर लागिराखेको छ।’
लामा २०५८ देखि २०६३सम्म कांग्रेसको कोटाबाट गुम्बा व्यवस्थापन तथा विकास समितिको अध्यक्ष भएका थिए। यसैगरी २०६४ मा एमालेबाट समानुपातिकमा सांसद भए। २०६७ मै उनी एमालेबाट राज्यमन्त्री बने।
२०७० मा नेकपा माओवादी प्रवेश गरेका उनी २०७१ मा माओवादीबाट समानुपातिक सांसद बने। अहिले माओवादीको कोटाबाट लुम्बिनी विकास कोषका उपाध्यक्ष बनेका छन्।