काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । शनिबार अपराह्न दुवै प्रधानमन्त्रीबीच नेपाल-भारत सम्बन्धको विविध पक्षमा छलफल भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।
‘आज दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन संवाद भएको छ । प्नधानमन्त्रीको भ्रमणको क्रममा भएको सहमति कार्यान्वयनको विषयमा छलफल भएको हो,’ प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने, ‘जलस्रोतलगायत विषयमा भएको सहमति कार्यान्वयनको अवस्था बारेमा चर्चा भयो ।’
भारतीय प्रधानमन्त्रीको कार्यालयले दुवै देशका सरकार प्रमुखबीचमा सहमति कार्यान्वयनका विषयमा छलफल भएको जनाएको छ । गत जेठमा प्रधानमन्त्री दाहालको भ्रमणको क्रममा १० हजार मेगावाट बिजुली भारतलाई बेच्ने सहमति भएको थियो ।