काठमाडौँ / गृह मन्त्रालयले भारतको उत्तराखण्ड राज्यमा गएको पहिरोमा परी बेपत्ता भएका नेपालीको खोजी तथा उद्धारका लागि आवश्यक समन्वय गर्न परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ । गृहले स्थानीय ‘हिलवाणी’ न्युज पोर्टलले केदारनाथ यात्रा मार्गको गौरीकुण्ड डाटपुलिया नजिक गएको बाढी पहिरोमा परी नेपाली नागरिक बेपत्ता भएको समाचारलाई उद्धृत गर्दै समन्वयका लागि पत्राचार गरेको हो ।
‘भारतको हिमवाणी अनलाइन खबरमा केदारनाथ यात्रा मार्ग गौरीकुण्ड डाटपुलिया नजिक भएको बाढी पहिरोमा परी नेपालीहरूसमेत बेपत्ता भएको भन्ने समाचार प्रकाशित भएकाले निजको खोज तथा उद्धारको सम्बन्धमा भारत सरकारसँग आवश्यक समन्वय हुन आदेशअनुसार अनुरोध छ,’ गृहले लेखेको पत्रमा भनिएको छ ।
भारतीय सञ्चारमाध्यमले सो घटनामा ४ जनाको शव बरामद भएको र बाँकी १५ जना बेपत्ता रहेको जनाएको छ । उक्त अनलाइनले स्थानीय समयअनुसार राति साढे ११ बजेतिर पहिरो गएको जनाएको छ । सो अनलाइनमा बेपत्ता रहेकामा १३ जना नेपाली नागरिक, तीन जना स्थानीय र बाँकी भारतको अन्य राज्यका मानिस भएको जनाएको छ ।