काठमाडौँ / नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यासको घोषणा गरेका छन्। उनले आफ्नो १८ वर्षे अन्तर्राष्ट्रिय करिअरको अन्त्य गरेको बताएका हुन्। नेपालका सबै उमेर समूह र राष्ट्रिय टिम गरी १८ वर्ष क्रिकेट खेलेका ज्ञानेद्रले शुक्रबार पत्रकार सम्मेलन गर्दै सन्न्यासको घोषणा गरेका हुन्।
मल्लले सन् २००५ मा नेपालको यू–१५ उमेर समूहबाट राष्ट्रको प्रतिनिधित्व सुरु गरेका थिए। त्यही वर्ष उनले नेपालको यू–१७ र यू–१९ हुँदै सिनियर टिममा समेत पर्न सफल भए। उनले एकै वर्ष नेपालको तीन वटा उमेर समूह यू–१५, यू–१७ र यू–१९० सहित राष्ट्रिय टिममा परेर कीर्तिमान बनाएका थिए। सिनियर राष्ट्रिय टिममा डेब्यू भने उनले सन् २००६ मा नामिबियामा गरेका थिए।
पारस खड्काले कप्तानी त्यागेपछि उनी २०७६ को कात्तिकमा राष्ट्रिय टिमको कप्तान बनेका थिए। तर क्यानसँगको खराब सम्बन्धका कारण उनलाई २०७८ को मंसिरमा कप्तानबाट हटाइएको थियो। त्यसपछि सन्दीप लामिछानेले राष्ट्रिय टिमको जिम्मेवारी सम्हालेका थिए। उनी पारस कप्तान रहँदा लामो समय नेपाली टिमको उपकप्तानको भूमिकामा रहेका थिए।
ज्ञानेन्द्रले खेलाडी वर्गीकरणमा भएको त्रुटिको विषयमा आफ्नो असन्तुष्टि व्यक्त गर्दै क्यानविरुद्ध विद्रोह नै गरेका थिए। कप्तानबाट हटेपछि उनले दुई वर्ष राष्ट्रिय टिमबाट खेले। उनको अन्तिम अन्तर्राष्ट्रिय खेलका रुपमा आईसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आयरल्यान्डविरूद्ध खेल रह्यो। जिम्बावेको हरारेमा भएको खेलमा उनी ७ रनमा आउट भएका थिए।
ज्ञानेन्द्रले राष्ट्रिय टिमबाट ३७ एकदिवसीय खेलमा ८७६ रन बनाएका छन्। यस्तै, ४५ टी–२० खेलमा ८ सय ८३ रन जोड्दा एक शतक र दुई अर्धशतक प्रहार गरेका छन्।