चीनको राजधानी बेइजिङलगायत आसपासका क्षेत्रमा १४० वर्षपछि भीषण भएको बेइजिङ मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार आँधीसहित चाङपिङको वाङ्जियायुआन जलाशय आसपासको क्षेत्रमा ७४४.८ मिलिमिटर वर्षा भएको छ । सन् १८९१ मा ६०९ मिलिमिटर पानी परेको थियो ।
राजधानी र आसपासका क्षेत्रमा शनिबारदेखिको मुसलधारे वर्षाबाट १३ करोड चिनियाँ प्रभावित भएका छन् । वर्षाको यो अभिलेख विगत ४० घण्टाको हो । राजधानी बेइजिङ र छिमेकी हेबेई प्रान्तमा ९ लाख ७४ हजार ४ सय जना विस्थापित भएका छन् ।
वर्षामा कमी आएसँगै नदीमा जलस्तर घट्न थालेको छ । अधिकारीहरूले जोखिम सूचक तहबाट पानीको सतह तल झरेको बताएका छन् । साथै उनीहरूले सर्वसाधारणलाई सचेत गराउने चेतावनीका सूचना पनि हटाएका छन् ।
बाढीपहिरोमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ, कैयौं घाइते भएका छन् । राजधानीका एक लाख बाढीपीडितलाई उद्धार गरिएको छ भने रेलमा अलपत्र परेका यात्रीलाई हेलिकोप्टरबाट खानेकुरा खसाएर सहयोग गरिएको छ । साथै उनीहरूलाई सैनिक जवानले उद्धार गरेका थिए । उद्धारका क्रममा मंगलबार बेइजिङमा दुई जनाको मृत्यु भएको बताइएको छ ।
यसैबीच चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय कमिटीको संगठन विभागले बेइजिङ, हेबेई र टियानजिनमा बाढीबाट उत्पन्न समस्या समाधान गर्न ६१ करोड ७० लाख अमेरिकी डलर विनियोजन गरेको छ ।
उक्त रकम केन्द्रीय कमिटीका सदस्यबाट सदस्यता शुल्कबापत संकलन गरिएको हो । संगठन विभागले सदस्यता रकम व्यवस्थापन र कोष सञ्चालन गर्दै आएको छ । विभागले बाढी नियन्त्रण तथा विपद् व्यवस्थापन, पीडित परिवारलाई सहयोग, सर्वसाधारणको जीवन र सम्पत्तिको सुरक्षा, समग्र सामाजिक स्थायित्वको सुनिश्चितताका निम्ति सहायता रकम प्रदान गरेको हो । विभागले पार्टीका सबै तहका कार्यकर्तालाई नागरिक सुरक्षा सुनिश्चित गर्न आग्रह पनि गरेको छ ।
विभागले अग्रपंक्तिमा काममा खटिएका तथा बाढीबाट गम्भीर समस्यामा परेकालाई तत्काल सहयोग हुने गरी कोष विनियोजन गर्नुपर्नेमा जोड दिएको छ ।