काठमाडौँ / कोसी प्रदेशमा ०७९/८० मा एक हजारभन्दा बढी मानिसले आत्महत्या गरेका छन्। विराटनगरस्थित कोसी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक राजेश बास्तोलाका अनुसार प्रदेशभर गत आर्थिक वर्षमा एक हजार ५ सय ५० जनाले आत्महत्या गरेका हुन्।
वर्षभरि ८ हजार ७ सय १९ वटा अपराधका मुद्दा दर्ता भएको बताएका प्रदेश प्रहरी प्रमुख बास्तोलाका अनुसार दर्ता भएका मुद्दामा २ हजार ७ सय ७३ वटा फस्र्र्याेट भएको र ५ हजार ९ सय ४६ मुद्दा फस्र्र्याेट हुन बाँकी छ।
त्यसैगरी, उनले वर्षभरि ३ सय ६५ जनाको सवारी दुर्घटनामा मृत्यु भएको जानकारी दिए। प्रदेशभर भएका ३ हजार ५ सय ३२ वटा ठूला–साना सवारी दुर्घटनामा ५ हजार ६ सय ६९ जना मानिस घाइते भएको उनको भनाइ छ। प्रदेश प्रहरी प्रमुख बास्तोलाका अनुसार गत आर्थिक वर्षमा ट्राफिक नियम उल्लंघनमा ३ लाख १ हजार ७ सय ४९ सवारी कारबाहीमा परेको र ३ सय ५२ वटा मुद्दा दायर भएको छ।
यस क्रममा प्रहरीले २३ करोड ४८ लाख ६६ हजार रुपैयाँ राजश्व संकलन भएको जनाएको छ। प्रहरीले भन्सार चोरी निकासी पैठारीतर्फ २६ करोड रुपैयाँ बढी राजस्व संकलन गरेको छ। भन्सार छली गरी निकासी–पैठारी गर्ने क्रममा सय जनालाई पक्राउ गरेको जनाएका प्रहरी प्रमुख बास्तोलाले भन्सार र आन्तरिक राजस्वतर्फ २६ करोड ९८ लाख ३८ हजार ९ सय ८० रुपैयाँ संकलन भएको जानकारी दिए।
प्रहरीले नदीजन्य उत्खननका क्रममा ७४ जनालाई पक्राउ गरेको छ। प्रदेश प्रहरी प्रमुख बास्तोलाका अनुसार प्रदेशका विभिन्न नदी तथा खोलामा अवैध रुपमा उत्खनन् गरेका ४ वटा जेसिभीसहित ३ सय ३७ वटा सवारीसाधनमाथि कारबाही गरेको छ।
नदीजन्य उत्खननका क्रममा प्रहरीले ३९ लाख २८ हजार ५ सय ३५ रुपैयाँ संकलन गरेको छ। प्रहरीले गत वर्ष काठ बरामद गर्ने क्रममा एक करोड रुपैयाँभन्दा बढी राजश्व संकलन गरेको छ।
काठ बरामद गर्ने क्रममा ३८ जनालाई पक्राउ गरेको जनाएको प्रदेश प्रहरी कार्यालयले ५ हजार ९ सय १ क्युफिट काठसहित १ करोड ३१ लाख ४५ हजार ३ सय ५७ रुपैयाँ राजस्व संकलन गरेको हो।