काठमाडौँ / भारतको उत्तरपूर्वी सुन्दर पहाडी राज्य मणिपुरमा जारी सम्प्रदायिक हिंसाप्रति विभिन्न क्षेत्रमा सक्रिय रहेका नेपाली नागरिकले चिन्ता व्यक्त गरेका छन् । विभिन्न क्षेत्रमा सक्रिय रहेका नागरिकहरूले बुधबार संयुक्त वक्तव्य जारी गर्दै हिंसा अन्त्यका लागि तत्कालै प्रजातान्त्रिक हस्तक्षेपका लागि आग्रह गरेका हुन् ।
भारत मणिपुर राज्यको राजधानी इम्फालमा गत सोमबार साँझ जातीय द्वन्द्व अन्त्यको माग र शान्तिको कामना गर्दै मैतेई समुदायका महिला ।
उनीहरूले भारतको संघीय र राज्य सरकारले मानवाधिकार संरक्षण गर्ने, कानुनी व्यवस्था कायम गर्ने र लडाइँमा संलग्न पक्षको मध्यस्थतालाई प्रवर्द्धन गर्ने जिम्मेवारी पूरा नगरेको आरोपसमेत लगाएका छन् ।
यसरी संयुक्त वक्तव्य जारी गर्नेमा मीना आचार्य, रेणु अधिकारी, कुन्दन अर्याल, राजु चापागाईं, पूर्णशोभा चित्रकार, कनकमणि दीक्षित, चन्द्रकिशोर झा, सुशील प्याकुरेल र दिनेश त्रिपाठी रहेका छन् ।
उनीहरूले दक्षिण एसियाको कुनै पनि भागमा सम्बन्धित अधिकारीले आफ्नो जिम्मवारी पूरा नगर्दा बढ्ने हिंसाको विषयमा छिमेकी राष्ट्रसहितका नागरिकले बोल्नुपर्ने जिम्मेवारी हुने बताएका छन् ।
वक्तव्यमा मणिपुरमा बहुसंख्यक मेइती र अल्पसंख्यक कुकी समुदायबीच भएको हिंसामा भएको जनधनको क्षतिप्रति आफूहरूको चिन्ता एवं चासो रहेको उल्लेख छ । तीन महिनादेखि जारी हिंसामा १ सय ८० जनाभन्दा बढीको ज्यान गइसकेको छ भने करोडौंको धनमाल र पूर्वाधारमा क्षति भएको छ ।
‘सरकारी संयन्त्र तथा निर्वाचित प्रतिनिधिहरू कर्तव्यविमुख हुँदा भारतका साथै दक्षिण एसियाकै बहुसांस्कृतिक शान्ति जोखिममा पर्न सक्छ, जुन मणिपुरमा प्रत्यक्ष देखिएको छ,’ वक्तव्य भनिएको छ ।