काठमाडौं / पश्चिमी अफ्रिकी मुलुक निजेरमा सैन्य कू भएपछि युरोपेली मुलुकहरुले त्यहाँबाट आफ्ना नागरिक फिर्ता लैजान सुरु गरेका छन् ।
बुर्किना फासो र मालीका सैनिक सरकारले छिमेकी निजेरमा हस्तक्षेप नगर्न अन्तर्राष्ट्रिय समुदायलाई चेतावनी दिएपछि युरोपेली मुलुकले आफ्ना नागरिक फिर्ता लैजान सुरु गरेका हुन् । निजेरबाट फ्रान्सले नागरिक लैजान सुरु गरेको छ भने इटाली र स्पेनले पनि घोषणा गरिसकेका छन् ।
फ्रान्सले नियामीस्थित आफ्नो दूतावासमा हालै भएका हिंसालाई मध्यनजर गर्दै यस्तो कदम चाल्नु परेको बताएको छ । जर्मनीले पनि अनावश्यक रुपमा निजेरमा नबस्न नागरिकलाई आग्रह गरेको छ ।
अमेरिकाले भने आफ्ना नागरिकलाई कुनै समस्या नहुने भएकाले तत्कालका लागि फिर्ता लाने प्रक्रिया सुरु भइनसकेको जनाएको छ । निजेरमा करिब एक हजार अमेरिकी सैनिक तैनाथ छन् ।