दाङ । दाङको घोराही उपमहानगरपालिकाले यस वर्ष पनि आँखाका बिरामीको निःशुल्क शल्यक्रिया गर्ने भएको छ । घोराही उपमहानगरपालिकाले उज्यालो कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्ष २०८०/८१ मा आँखाकाे निःशुल्क शल्यक्रियाका लागि सम्झौता गरेको हो । विगत छ वर्षदेखि उज्यालो अभियानअन्तर्गत घोराही उपमहानगरपालिका र नेपाल नेत्रज्योति सङ्घ, राप्ती आँखा अस्पतालसँग सम्झौता भई मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया हुँदै आएको थियो ।
यस वर्ष पनि एक सय २५ जनाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रियाका लागि सम्झौता भएको राप्ती आँखा अस्पतालले जनाएको छ । साझेदारी कार्यक्रमअन्तर्गत उपमहानगरपालिकाले एसआईसीएस प्रविधिबाट मोतियाबिन्दुको शल्यक्रिया गर्ने अस्पताललाई प्रतिव्यक्ति आठ हजार रुपैयाँ उपलब्ध गराउने छ । त्यस्तै सेवा प्रदायकले मोतियाबिन्दुको फेको प्रविधिबाट शल्यक्रिया गराउनुपरेमा भने उपमहानगरले थप पाँच हजार रुपैयाँ दिने सम्झौतमा उल्लेख छ । आर्थिक वर्ष २०७५/७६ देखि शुरु भएको साझेदारी कार्यक्रमअन्तर्गत अहिलेसम्म उपमहानगरले चार सय ९७ जनामा देखिएको मोतियाबिन्दुको शल्यक्रिया गरी उज्यालो प्रदान गरेको छ । यस आर्थिक वर्षमा उपमहानगरले २० लाख रुपैयाँ छुट्याएको छ । यस्तै उपमहानगरले पहिलो चरणमा एक सय २५ जनाको शल्यक्रियाका लागि सम्झौता गरे पनि आवश्यक परे थप सहयोग गर्ने जनाएको छ ।