काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहालले भदौ अन्तिमदेखि चीन भ्रमण गर्ने भएका छन् । पुस १० मा तेस्रो पटक प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमण जेठमा भारतबाट थालेका दाहालको चीनको भ्रमणको गृहकार्य सुरु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
‘प्रधानमन्त्रीज्यूको चीन भ्रमण सेप्टेम्बर तेस्रो साता (भदौ २९–असोज ५) हुने गरी तयारी थालेका छौं, यो मिति तलमाथि पनि हुन सक्छ,’ परराष्ट्रमन्त्री एनपी साउदले भने, ‘तर अहिले सोही मितिलाई मध्यनजर गरेर गृहकार्य भइरहेको छ ।’
दाहालको जेठ १७ देखि २० सम्म भारतको औपचारिक भ्रमण गरेका थिए । त्यसपछि उनी इटाली प्रस्थान गरे । साउन ८–१० मा रोममा भएको ‘युनाइटेड नेसन्स फुड सिस्टम समिट–२०२३ स्टकटेकिङ मुभमेन्ट’ मा उनले नेपालको उच्चस्तरीय प्रतिनिधि मण्डलको नेतृत्व गरेका थिए । तेस्रो विदेश भ्रमणका लागि चीन जान परराष्ट्र मन्त्रालय र बेइजिङस्थित नेपाली दूतावासले गृहकार्य गरिरहेका हुन् । चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले प्रधानमन्त्री दाहालको भ्रमणका लागि गृहकार्य भइरहेको जानकारी दिए ।
प्रधानमन्त्री नियुक्त भएपछि पहिलो भ्रमण भारतबाटै सुरु गर्ने परम्परालाई तोड्दै दाहालले सन् २००८ मा पहिलो पटक प्रधानमन्त्री हुँदा पहिलो भ्रमण चीनबाटै थालेका थिए । त्यस बेला उनी बेइजिङ ओलम्पिकको समापन समारोहमा सहभागी भएका थिए । बेइजिङबाट फर्केलगत्तै भने उनले आफ्नो औपचारिक भ्रमण भारतबाटै हुने दाबी गरेका थिए ।
दाहाल सन् २०१६ मा दोस्रो पटक प्रधानमन्त्री हुँदा पनि आफ्नो औपचारिक विदेश भ्रमण भारतबाटै गरे । सन् २०१७ को मार्चमा उनले चीन भ्रमण गरे । त्यस बेला उनले हैनान प्रान्तमा भएको ‘बोआओ फोरम फर एसिया’ मा सहभागिता जनाउनुका साथै बेइजिङमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग द्विपक्षीय भेटवार्ता गरेका थिए ।
संयोगवश तेस्रो पटक प्रधानमन्त्री हुँदा दाहाल ‘बोआओ फोरम फर एसिया’ मा सहभागी हुन गएनन् । सम्मेलन गत चैत १४ देखि १७ सम्म चीनको हैनान प्रान्तमै भएको थियो । चिनियाँ राजदुत छन सोङले गत फागुन १० मा प्रधानमन्त्री दाहाललाई भेटेर बोआओ फोरमको निम्तो दिएका थिए । जाने गृहकार्य भए पनि आन्तरिक व्यस्तताका कारण प्रधानमन्त्री दाहालको भारत भ्रमण छिटो हुन नसकेपछि चीनको निमन्त्रणमा गएनन् ।
प्रधानमन्त्री दाहालको भ्रमण हुने भएपछि झन्डै ६ महिनादेखि रिक्त रहेको उपनियोग प्रमुखमा परराष्ट्र मन्त्रालयले राहदानी विभागका महानिर्देशक तथा सहसचिव सुरेन्द्र यादवलाई पठाउने निर्णय गरेको छ । राजदूत श्रेष्ठले लामो समयदेखि परराष्ट्र मन्त्रालयलाई आफूलाई उपनियोग प्रमुख पठाउनका लागि आग्रह गर्दै आएका थिए । तर मन्त्रालय नेतृत्वले त्यसलाई बेवास्ता गर्दै आएको थियो ।
कूटनीतिक स्रोतका अनुसार चीनले असोज ६ देखि २१ सम्म हाङचाओमा हुने एसियाली खेलकुदमा अथितिका रूपमा दाहाललाई निम्त्याउने सम्भावना पनि छ ।
तर संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री दाहालको सहभागिता जनाउने गरी परराष्ट्र मन्त्रालयले गृहकार्य गरिरहेको छ । राष्ट्र संघको उच्चस्तरीय सम्बोधन असोज २ देखि एक साता न्युयोर्कमा चल्नेछ । दाहालले न्युयोर्कको भ्रमण र चीनको भ्रमण कसरी मिलाउने भन्ने बारेमा पनि छलफल भइरहेको परराष्ट्र स्रोतले बतायो । स्रोतका अनुसार यही वर्षको अन्त्यमा चीनले गर्ने बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को १० औं सम्मेलनमा राष्ट्रपति रामचन्द्र पौडेललाई आमन्त्रण गर्ने गरी गृहकार्य पनि भइरहेको छ ।