काठमाडौँ – संसदको प्रभावशाली सार्वजनिक लेखा समितिले करिब एक सय किलो अवैध सुन समातिएको घटनामा हात हालेको छ।
स्थायी रुपमा समितिको नेतृत्व चयन नगर्दै लेखा समितिले आइतबार एमालेको मागअनुसार सुन प्रकरणबारे अनुसन्धान गर्न ‘उच्चस्तरीय छानबिन समिति’ बनाउन ध्यानाकर्षण गराउने निर्णय गरेको हो।
जेष्ठ सदस्यका रुपमा समितिको नेतृत्व गरेका सत्ता पक्षकै अर्जुननरसिंह केसीले ‘उच्चस्तरीय छानबिन समिति’ बनाउने एमालेको एजेण्डालाई समर्थन गर्दा लेखा समितिको निर्णय बन्न पुगेको हो।
समिति सचिव एकराम गिरीले प्रक्रिया पूरा गरेर सरकारलाई समितिको निर्णय उठाउने जानकारी दिए। साउन ३ गते अर्थ मन्त्रालय मातहतको भन्सार कार्यालय र गृह मातहतको सुरक्षा निकायको आँखा छलेर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बाहिर आइपुगेको करिब सय किलो सुन प्रधानमन्त्री मातहतको राजश्व अनुसन्धान विभागले बदराम गरेको थियो।
यो प्रकरणको छानबिनक लागि अर्थमन्त्री प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनुपर्ने आवाज उठिरहेका बेला लेखा समितिले उच्चस्तरीय छानबिन समिति गठनका लागि दबाब दिएको हो।
चर्चामा रहेका ठूला भ्रष्टाचारका काण्डमा हात हाल्ने तर निष्कर्षमा पुर्याउन नसक्ने लेखा समितिको यसअघिको तीतोसत्यका बीच स्थायी रुपमा समिति नेतृत्व चयन नभइ समितिले सुन प्रकरण छानबिनका लागि गराएको ध्यानाकर्षणले सफलता पाउनेमा आशंका छ।
पछिल्लो समयमा भइरहेको सुन तस्करीबारे छानबिन नियमित प्रहरीको अनुसन्धानबाट नहुने दाबी गर्दै एमालेले उच्च स्तरीय छानबिनको माग गर्दै १० गतेको प्रतिनिधिसभा अवरुद्ध पारेको थियो।
विपक्षी एमालेका सांसदले आइतबार त्यही एजेण्डा लेखा समितिमा दोहोर्याएका हुन्। ‘सुन प्रकरणले देशको इज्जतमाथि नै प्रश्न उठेको छ। सुनमा भएको यो लगानी वैधानिक होइन। सुन्नमा आएअनुसार यसमा अन्तर्राष्ट्रिय आतंकवादी, लागूऔषध कारोबारी र संगठित अपराध गर्नेको संलग्नता छ,’ बैठकमा एमाले सांसद योगेश भट्टराईले भने, ‘यसमा सत्ता पक्षकै ठूला नेता जोडिएकाले नियमित तरिकाबाट छानबिन सम्भव छैन। उच्च स्तरीय छानबिन समिति बन्नुपर्छ।’
एमालेका अर्का सांसद ऋषिकेश पोखरेलले पनि सुन प्रकरण गम्भीर भएकाले निष्पक्ष छानबिनका लागि उच्चस्तरीय टोली नै गठन हुनुपर्ने धारणाको समर्थन गरे। उनले भने, ‘यसको छानबिनका लागि उच्चस्तरीय समिति नै बनाउन निर्देशन दिऔँ।’
सत्ता पक्षका सांसदहरुले पनि सुन प्रकरणमाथि छानबिन हुनुपर्ने र यसलाई सामान्य रुपमा लिन नहुने बताए।
जेष्ठ सदस्यका रुपमा समितिको सभापतित्व गरेका कांग्रेस सांसद अर्जुननरसिंह केसीले सयौँ किलो सुन विमानस्थलबाट पास हुनु अनर्थ मात्रै नभइ महाअनर्थ भएको टिप्पणी गरे। केसीले भने, ‘विमानस्थलबाट सय किलो सुन पास हुनु अनर्थ मात्रै होइन, महाअनर्थ पनि हो। यसमाथि छानबिन हुनुपर्छ।’
छानबिनको माग गर्दै संसद अवरोध गर्ने एमालेको कार्यप्रति विमति जनाउँदे उनले भने, ‘संसद अवरोध नै विकल्प होइन। विपक्षी मान्य ज्यूहरुले बुझ्नुपर्छ। अहिले उच्चस्तरीय छानबिन समिति गठनका लागि ध्यानाकर्षण गराऔँ।’
कांग्रेसकै सांसद राजन केसीले सुन तस्करीबारे गृह र अर्थमन्त्रीलाई बोलाएर सोध्नुपर्ने उल्लेख गरे। ‘सम्बन्धित मन्त्रीलाई बोलाएर सोधपुछ गरौँ। अनि निर्देशन गरौँ,’ केसीले थप भने, ‘सुन प्रकरणमा निष्पक्ष रुपमा छानबिन हुनुपर्छ।’
सांसद सञ्जय गौतमले तस्करीलाई टुलुटुलु हेरेर समिति बस्न नहुने धारणा राखे। उनले भने, ‘सुन तस्करीमा टुलुटुलु हेर बस्न सकिँदैन। यस्ता भ्रष्टाचारलाई निष्कर्षमा पुर्याउनुपर्छ। छानबिनलाई निष्कर्षमा पुर्याउन समितिले भूमिका खेल्नुपर्छ।’