काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्तो एनेसले विश्वकप छनोटमा लाओसविरुद्धको खेल कठिन हुने जनाएका छन् ।
नेपालले सन् २०२६ को फिफा विश्वकपका लागि पहिलो चरणको छनोटमा लाओससँग प्रतिस्पर्धा गर्दैछ । हाल इटालीमा रहेका भिन्चेन्सोले भिडियोमार्फत विपक्षी टिमबारे प्रतिक्रिया दिएका हुन् ।
थ्री नेसन्स कपमा लाओससँग खेलेको अनुभवका आधारमा प्रशिक्षक भिन्चेन्सोले प्रतिस्पर्धा सहज नहुने उल्लेख गरेका हुन् । उनले लाओस प्राविधिक रुपमा उत्कृष्ट रहेको जनाएका छन् । तर नेपालले लाओसलाई पराजित गर्ने उनले विश्वास व्यक्त गरे । छनोट खेल होम एन्ड अवेको आधारमा हुनेछ । पहिलो लेग असोज २५ र दोस्रो लेग ३० गते हुनेछ ।
२०२६ को विश्वकप अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रुपमा आयोजना गर्दैछन् । भिन्चेन्सो केही दिनमा नै नेपाल आउनेछन् । उनले आगामी मंगलबारदेखि अभ्यास सुरु गर्ने जनाएका छन् ।
उनले आफ्नो भिडियोमा नयाँ र उर्जावान खेलाडी बोलाएको उल्लेख गरेका छन् । भिन्चेन्सोले हिजो तीन नयाँ खेलाडी फ्रेन्ड्स क्लबका मिडफिल्डर सन्तोष खत्री, कुशल फुयाल तथा जावलाखेल युथ क्लबका हिसुब थपलियालाई बन्द प्रशिक्षणमा बोलाएका थिए । प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा ३३ खेलाडी छन् ।