कठमाडौँ – कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पार्टीमा एमाले युवा नेताहरूको हैसियत ‘दुनामा खाएर कुनामा बस्ने’ सरह पनि नभएको बताएका छन्।
कांग्रेस काठमाडौं क्षेत्र नम्बर ९ (क) प्रदेश कार्यसमितिले शनिवार आयोजना गरेको एक कार्यक्रममा उनले उक्त टिप्पणी गरेका हुन्।
कांग्रेसका युवाले आफ्नो सन्देश दिन पार्टी सभापति शेरबहादुर देउवासँग संसदीय दलको नेतामा मुस्कुराएर प्रतिस्पर्धा गर्ने आँट गरे पनि एमालेका युवाहरूमा पार्टी अध्यक्ष केपी ओलीसँग प्रतिस्पर्धाका लागि साहस गर्ने आँट नभएको महामन्त्री शर्माको प्रतिक्रिया थियो।
उनले एमालेका युवालाई पनि संसदीय दलको चुनावमा कमरेड केपी ओलीसँग प्रतिस्पर्धा गर्ने आँट गर्न सुझाव दिँदा उनीहरूबाट आफूहरूको अवस्था भनेको ‘कुनामा बस्ने, दुनामा खाने’ जवाफ पाएको बताए। तर, कांग्रेसका युवाहरूले भने गगन थापालाई संसदीय दलमा हारिन्छ भन्ने थाहा हँुँदाहुँदै उम्मेदवारी दिन लगाएर युवा पनि पार्टीमा छौं भन्ने सन्देश दिइएको स्पष्ट पारे। उनले अब कांग्रेसबाट सिको गर्दै सबै राजनीतिक दलले पार्टीका बैठक लाइभ गर्ने दाबीसमेत गरे।
महामन्त्री शर्माले कांग्रेसले ०८४ सालमा आउने निर्वाचनको चिन्ता नगर्ने तर सो निर्वाचनमा जनतामा जाने गरी काम गर्ने बताए। निर्वाचनलाई परीक्षासँग तुलना गर्दै उनले परीक्षामा उत्तीर्ण हुन पढ्नुपर्ने भएकाले कांग्रेसले सो परीक्षामा सफल हुने गरी जनताको पक्षमा काम गर्ने कुरालाई जोड दिने बताए।