मोरङ / कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रजातन्त्र प्राप्तिका लागि नोना कोइरालाको योगदान सदैव स्मरणमा रहने बताएका छन्।
विराटनगरको इक्राइमा शनिबार आयोजित नोना कोइराला स्मृति प्रतिष्ठानको साधारण सभाको उद्घाटन गर्दै डा. कोइरालाले राष्ट्र, राष्ट्रियता प्रजातन्त्र स्थापनाका लागि कोइरालाको योगदान बिर्सन नसकिने रहेको बताए।
प्रतिष्ठानका संरक्षक डा. कोइरालाले राजनीतिमा ३३ प्रतिशत महिलाको स्थान रहनुपर्ने माग नोना कोइरालाले उठान गरेको बताए।
केन्द्रीय सदस्य कोइरालाले भने, ‘मुलुकको राजनीतिमा उहाँले महिलाले ३३ प्रतिशत सहभागिता पाउनुपर्छ भन्ने उठान गर्नुभएको हो। पञ्चायतको समयमा समेत उहाँले प्रजातन्त्र स्थापना तथा सामाजिक न्यायका लागि साहसिक कार्य गर्नुभयो। उहाँमा सबैलाई मिलाएर अघि बढ्न सक्ने क्षमता थियो।’
कार्यक्रममा विराटनगर महानगर प्रमुख नागेश कोइरालाले प्रजातन्त्र स्थापनाका लागि महिलालाई जागृत र गोलबद्ध बनाउने कार्य उहाँको प्राथमिकतामा पर्दै आएको बताए।
राजनीतिमा निडर, साहसी महिलाका रूपमा परिचित नोना कोइरालालाई समाजले बिर्सन नहुने बताएका मेयर कोइरालाले प्रतिष्ठानको विकासका लागि महानगर प्रतिबद्ध रहेको उल्लेख गरे।
संस्थाका अध्यक्ष डा नारायण कुमारको अध्यक्षता भएको कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य हसन अन्सारी कांग्रेस नेता गोपालराज भण्डारी, कोशी प्रदेशका पूर्वप्रदेशसभा सदस्य शान्ता पौडेल, संस्थाका महासचिव एवं नेपाल पत्रकार महासंघ कोशी प्रदेश अध्यक्ष लिलावल्लभ घिमिरे, पार्टीका नेता निरञ्जन रिजाल तथा संस्थाका सदस्य निर्मला कोइरालालगायतले नोना कोइरालाको योगदानको चर्चा गरेका थिए।