–निमकान्त पाण्डे
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक यसपटक लाइभ गरिएको छ । यो बैठकले राम्रो चर्चा पनि पाइरहेको छ । चर्चा लाइभ गरिएकोमा भइरहेको छ । प्रजातान्त्रिक आवरणको पार्टीको लाइभ बैठककै कारणबाट चुलिएको चर्चा स्वयम् कांग्रेसका नेताहरुका लागि लज्जाको विषय हो । तथापि लाइभ बैठकले देशहित र जनताका पक्षमा निर्णय लिने आशा भने देखिएको छैन । नेपाली कांग्रेस पार्टी देशलाई ‘बेरोजगारहरुको भ्रष्ट मुलुक’का रुपमा परिचित गराउने नेताहरु भएको पार्टी हो भन्ने जनताको बुझाइ भएको छ । यो अवस्थाको अन्त्य कसरी गर्ने ? नेताहरुको चिन्तन यसतर्फ पटक्कै छैन । त्यसैले बैठक लाइभ होस् वा गोप्य होस्, जनतालाई राजनीतिक दलहरुका
बैठकका निर्णय देशको हितमा होस् र जनताका पनि हितमै होस् भन्ने चाहना छ भन्ने कुरा स्पष्ट छ ।
देशमा बढिरहेको राजनीतिक वितृष्णा राजनीतिक दलहरुका लागि सबैभन्दा ठूलो असफलता हो । यसको कारण हो, राजनीतिक दलको नेतृत्वमा एउटै अनुहारको पुनरावृत्ति । दशकौंदेखि एकै नेता पार्टीको शीर्ष तहमा हुनु, चुनावमा पनि तिनै नेताहरु सहभागी हुनु र सरकारमा पनि पटकपटक त्यही व्यक्ति प्रधानमन्त्री र मन्त्री हुनुका कारणले पनि राजनीतिक दलप्रति युवा वर्गको आकर्षण देखिँदैन । पटकपटक परीक्षण भई फेल भइसकेका नेताहरुको कब्जामा नै नेपालको राजनीति जकडिएको देखिन्छ । यसको कारण पनि राजनीतिक दलको बैठक फगत बैठकमा मात्र सीमित भएको छ ।
नेपाली कांग्रेसकै कुरा गर्ने हो भने पनि यसको सभापति शेरबहादुर देउवा पटकपटक प्रधानमन्त्री भइसकेका छन् । राजाको शासनकालदेखि गणतन्त्र बहालीसम्म पनि देउवाको भूमिका घटेको छैन । राजनीतिक केन्द्रमा सधैं रहेका देउवाले देशलाई उल्लेख्य योगदान भने केही गर्न सकेका छैनन् । तर तिनै देउवा अहिले पनि कांग्रेसमा हावी भएको कांग्रेसको लाइभ बैठकले देखाएको छ । नेपालका राजनीतिक दलमा किन पुस्तान्तरण हुन सकिरहेको छैन ? किन कांग्रेस, माओवादी र एमालेलगायत पुराना पार्टीप्रति वितृष्णा बढिरहेको छ ? किन स्वतन्त्र र नयाँ पार्टीले भरोसा गर्न थालेका छन् त ?
नेपालको राजनीतिक दलमा पुस्तान्तरण हुन नसक्नुको कारण हो, नेतृत्वको चाकडी । दलको हरेक महत्वपूर्ण निर्णय लिने अधिकारी शीर्ष नेतृत्वलाई नै दिइएको हुन्छ । चाहे त्यो सरकारमा सहभागी हुने होस् वा अन्य लाभका पदमा नियुक्ति । त्यसैले पनि दोस्रो तहका नेताले आफ्नो राजनीतिक भविष्यका लागि पनि नेतृत्वको गलत काम र निर्णयको विरोध गर्न सकिरहेका छैनन् । यसले गर्दा पार्टीको नेतृत्वलाई नै वर्षौंसम्म शक्तिशाली बनाइराख्ने र देशको समृद्धिमा अवरोध भइराख्ने प्रवृत्ति देखिएको छ । तिनै नेता पटकपटक देशको प्रधानमन्त्री बनेका छन्, तर उनीहरु कार्यसम्पादनमा भने असफल साबित भएका छन् । तर, पुस्तान्तरण हुन नसक्दा पुराना पार्टीप्रति वितृष्णा
बढिरहेको छ भने नयाँ दलप्रति केही नयाँ होला कि भन्ने आशाले आकर्षण देखिएको छ ।
बढिरहेको छ भने नयाँ दलप्रति केही नयाँ होला कि भन्ने आशाले आकर्षण देखिएको छ ।
कांग्रेसको लाइभ बैठकमा पनि केही नेताले पुस्तान्तरणको विषयलाई उठाएका छन् । कार्यसम्पादनमा अब्बल नहुने नेताले अर्को नेतालाई ठाउँ खाली गरिदिनुपर्ने उनीहरुको भनाइ छ । यो स्वाभाविक पनि हो । यदि नेतृत्व सबल छ भने उसले देशको सेवा गर्ने मौका पाउनुपर्छ । तर, युवा नै भए पनि यदि देशलाई योगदान गर्न सक्दैन भने उसले ठाउँ छोडिदिनु उपयुक्त हुन्छ । संसारका थुप्रै देशका ५०–५५ वर्षमै नेताहरुले देशलाई दिनसक्ने जति योगदान दिइसकेको भनेर राजनीतिबाट संन्यास लिइसकेका थुप्रै उदाहरण छन् । देशलाई योगदान दिनसकेको आधारमा थुप्रै वयोवृद्ध नेता पनि राजनीतिमा सक्रिय छन् । त्यसकारण योगदानका आधारमा राजनीति गर्न सके त्यसले देश र जनतालाई भलो गर्नेछ ।
नेपालमा भने त्यसको ठीक विपरीत भइरहेको छ । कार्यक्षमतामा अब्बल नभए पनि केही ४–५ जना नेता नै दशकौंदेखि नेपाली राजनीतिको केन्द्रको वरिपरि बसेका छन् । उनीहरु राजनीतिक, विकासगत एजेन्डामा छलफल गर्नभन्दा पनि कसरी चर्चा कमाउने भन्नेमा ध्यान दिने गरेका छन्, जसको उदाहरण हो कांग्रेसको लाइभ बैठक । स्वतन्त्र मेयरको लाइभ बैठकको एजेन्डा जनतामा चर्चा पाउँदा कांग्रेसले पनि त्यसैको सिको गरेको छ । तर, त्यसमा कांग्रेसका नेताहरुको यथार्थ नांगिएको छ । उनीहरु देश र जनताको हितमा भन्दा पनि भ्रष्टाचारमा र भ्रष्टाचारमा संलग्न नेताको बचाउमा उत्रिएका छन् । देशको स्वार्थभन्दा पनि व्यक्तिगत स्वार्थमा बहस गर्न केन्द्रित छन् । त्यसैले पार्टीका बैठक लाइभ गर्ने, तर गोप्य रुपमा राष्ट्रघाती सम्झौताहरु गर्ने र ठूला–ठूला लूटका काण्डहरु मच्चाउने नेताहरुका आचरण भएकाले जनतामा दलहरुका बैठकप्रति कुनै चासो देखिँदैन, आगे दलका नेताहरुलाई चेतना भया ! जनधारणा साप्ताहिकबाट