जारी फिफा महिला विश्वकपमा नवप्रवेशी फिलिपिन्सले सह-आयोजक न्युजिल्यान्डलाई हराउँदै कीर्तिमानी जित हासिल गरेको छ। समूह ‘ए’ अन्तर्गत वेलिङटनमा भएको खेलमा पहिलोपटक विश्वकप सहभागितामा नै जित हासिल गर्न फिलिपिन्स सफल रह्यो।
विश्वस्तरीय प्रतियोगितामा फिलिपिन्सको यो पहिलो गोल तथा जित हो। फिलिपिन्सका लागि खेलको २४ औँ मिनेटमा सरिना बोल्डेनले गरेको एकमात्र गोल निर्णायक बनेको थियो।
न्युजिल्यान्ड नकआउटका लागि दाबेदार मानिए पनि फिलिपिन्ससँग पराजित भएसँगै उसको नकआउट सम्भावनामाथि दबाब परेको छ।
यसअघि समूहको पहिलो खेलमा न्युजिल्यान्डले सनसनीपूर्ण खेलमा नर्वेलाई हराएर ऐतिहासिक जित निकालेको थियो।
फिलिपिन्स भने स्विट्जरल्यान्डसँग पराजित भएको थियो।
फिलिपिन्सकी लागि कीर्तिमानी गोल गर्ने क्रममा सरिनाले सारा एग्गेसभिकको क्रसलाई आकर्षक हेड गर्दै गोल गरेकी थिइन्।
दोस्रो हाफमा घरेलु समर्थकका अगाडि न्युजिल्यान्डले बराबरी गोल गर्ने अवसर पाएको थियो। ज्याकी ह्यान्डको प्रहारले जाली चुमे पनि भिएआरको सहयोगमा उक्त गोलले मान्यता पाएन।
जारी विश्वकपमा सहभागी नयाँ ८ टोलीमध्ये जित निकाल्ने फिलिपिन्स पहिलो टोली हो।