काठमाडौँ – भारत र वेस्टइन्डिजबीच दुई खेलको टेस्ट सिरिज जारी छ। दोस्रो टेस्टको दोस्रो दिन विराट कोहलीले अनेकन रेकर्डहरु आफ्नो नाममा पारे। कोहलीले अलटाइम ग्रेट ब्याटर सर डोनाल्ड ब्रेडम्यानको कीर्तिमान बराबरी गरे। साथै कोहली आफ्नो ५०० औँ अन्तर्राष्ट्रिय खेलमा शतक प्रहार गर्ने पहिलो ब्याटरसमेत बने।
कोहलीले सर्वाधिक चाँडो ७६ अन्तर्राष्ट्रिय शतकको कीर्तिमानसमेत बनाए। उनले सचिन तेन्दुल्करलाई पछि पारे। वेस्टइन्डिजको पोर्ट अफ स्पेनमा जारी खेलमा कोहलीले १२१ रनको शतकीय इनिङ्स खेले। उनको इनिङ्सको मद्दतमा भारतले ४ सय ३८ रनको स्कोर पूरा गर्यो। जवाफमा वेस्टइन्डिजले दोस्रो दिन ८६ रन बनाउँदा १ विकेट गुमाएर खेलिरहेको छ। उच्च स्कोरसँगै वेस्टइन्डिजविरुद्ध भारत बलियो अवस्थामा पुगेको छ।
५०० खेलमा सर्वाधिक रन बनाउने ब्याटर
कोहली आफ्नो करिअरको ५०० औँ खेलमा सर्वाधिक रन बनाउने ब्याटर बने। उनले १२१ रनको इनिङ्स खेले। यतिमात्र होइन कोहली ५०० औँ खेलमा शतक बनाउने पहिलो भारतीय बने। उनीभन्दा अघि कुनै पनि खेलाडीले आफ्नो ५०० औँ खेलमा शतक प्रहार गर्न सकेका थिएनन्।
कोहलीपछि कुमारा सांगाकाराले आफ्नो ५०० औँ खेलमा ४८ रन बनाएका थिए। श्रीलंकाका ब्याटर सांगाकाराले २०१३ मा बंगलादेशविरुद्ध एकदिवसीय खेलमा यो इनिङ्स खेलेका थिए।
कोहलीले ५०० औँ अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक शतक प्रहार गर्ने खेलाडी बने। उनले सचिन तेन्दुलकरलाई पछि पार्दै नयाँ कीर्तिमान आफ्नो नाममा पारे। कोहलीले ७६ शतक बनाउँदा तेन्दुलकरले ५०० खेलमा ७५ शतक बनाएका छन्। अन्तर्राष्ट्रिय करिअरमा विराटभन्दा अघि तेन्दुलकर (१०० शतक) मात्र अघि रहेका छन्। यसका लागि उनले ६६४ अन्तर्राष्ट्रिय खेल खेलेका थिए।
५०० खेलपछि सर्वाधिक शतक प्रहार गर्नेमा विराट ७६, सचिन ७५ बनाउँदा रिकी पोन्टिङले ६८ शतक प्रहार गरेका छन्। त्यस्तै, ज्याक कालिसले ६० शतक प्रहार गर्दा राहुल द्रविड र कुमारा संगाकाराले समान ४७ शतक प्रहार गरेका छन्।
वेस्टइन्डिजविरुद्ध ज्याक कालिसको कीर्तिमान बराबरी
वेस्टइन्डिजविरुद्ध शतक जमाउने मामिलामा विराट कोहलीले ज्याक कालिसको कीर्तिमान बराबरी गरे। विराटले वेस्टइन्डिजविरुद्ध १२ औँ अन्तर्राष्ट्रिय शतक प्रहार गरे।
उनीअघि वेस्टइन्डिजविरुद्ध ज्याक कालिसले पनि १२ शतक प्रहार गरेका थिए। वेस्टइन्डिजविरुद्ध सर्वाधिक शतक बनाउने कीर्तिमान भने सुनिल गावस्करको नाममा रहेको छ। गावस्करले १३ शतक प्रहार गरेका छन्।