काठमाडौं । एनआईसी एसिया बैंकले मुद्दती खातामा आधारित नयाँ अनलाइन कर्जा सुविधा ल्याएको छ । यस योजना अन्तर्गत बैंकमा मुद्दती निक्षेप राखेका ग्राहकले बैंकको मोबाइल बैंकिङ (मोबैंक) एप वा वेबसाइटबाट आवेदन दिई निक्षेपको ९० प्रतिशतसम्म वा अधिकतम दुई लाख रुपैयाँसम्मको कर्जा पाउनेछन् ।
यो योजनाको लाभ लिनयोग्य ग्राहकले मोबाइल बैंकिङ एप वा वेबसाइटमा उपलब्ध ‘Apply for Loan Against FD’ विकल्पमा जानुपर्छ । उक्त विकल्प छनोट गरेपछि सिस्टमले आवेदनको मुद्दती खाताको विवरण र खातामा उपलब्ध रकम तत्कालै जानकारी लिनेछ ।
दुई लाखभन्दा माथिको कर्जाको हकमा भने ग्राहकले डिजिटल फर्म भरेर बैंकको शाखा कार्यालयमा गई आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने बैंकले उल्लेख गरेकाे छ ।
यसरी मुद्दती खाता कर्जा प्राप्त गर्ने ग्राहकले हरेक त्रयमासको अन्तसम्ममा ब्याज भुक्तानी गर्नुपर्ने र कर्जा लिएको एक वर्ष वा मुद्दती खाता परिपक्व हुने दिनको अघिल्लो दिनसम्म साँवा भुक्तानी गर्नुपर्ने बैंकले स्पष्ट पारेको छ ।
न्यूनतम पाँच हजार रुपैयाँ कर्जा सीमा उपलब्ध यस योजनामा ग्राहकले प्राप्त गर्ने कर्जाको अधिकतम सीमा, ब्याजदर, प्रक्रिया शुल्क, कर्जा भुक्तानी सुविधा, पुनर्तालिकीकरण र सर्तहरूका बारेमा कर्जा लिने प्रक्रियाको क्रममा जानकारी प्राप्त गर्न सक्नेछन् ।