काठमाडौँ – उपराष्ट्रपति रामसहायप्रसाद यादवले जनताको अपेक्षाअनुसार सेवा प्रवाहको कामलाई थप प्रभावकारी बनाउन जरुरी रहेको बताएका छन्।
उपराष्ट्रपति यादवले नेपालका प्रशासन, व्यवस्थापन र कर्मचारी संयन्त्रमा सुनिने गरिएका गुनासो, विकृति, विसंगतिको अन्त्यका लागि पनि जनमुखि सेवा प्रवाहको कामलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको बताएका हुन्।
नेपाल जन–प्रशासन संघले बुधबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकको आर्थिक समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्पका साथ अघि बढ्नु पर्नेसमेत स्पष्ट पारे।
मुलुक डिजिटल युगमा प्रवेश गरिसकेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले सोहीअनुरुपको जनशक्ति परिचालन गर्दै आफ्नो सेवा प्रवाहलाई थप सुदृढ, परिष्कृत, परिमार्जन अघि बढ्नैपर्नेतर्फ पनि तीन वटै तहका सरकारको गम्भीर ध्यानाकर्षण गराए।
उनले जनताको सेवा प्रवाहको कामलाई सहज, सरल, प्रभावकारी र पारदर्शी बनाउन पनि नेपाल जन प्रशासन संघले उनीहरुको क्षमता अभिवृद्धिका लागि आवश्यक प्रशिक्षणको व्यवस्था गर्नुपर्ने बताए।