गोरखा । गोरखाको आरुघाट गाउँपालिकाले बर्खायामको समयमा पालिकाभित्रका मुख्य–मुख्य ग्रामीण सडक मर्मतसंहारका साथै सडक सञ्चालन राख्न सडक हेरालु परिचालन गरेको छ ।
गाउँपालिकाले पालिकाभित्र १५ सडक हेरालु नियुक्त गरी परिचालन गरेको छ । गाउँपालिकाका अध्यक्ष राजु गुरुङका अनुसार छनोटमा परेका सडक हेरालुलाई तालिमसमेत प्रदान गरिएको छ । बर्खामा सडकमा बग्ने भल तथा स–साना पहिरा समयमा नै हटाउन तथा सडक सरसफाइ गर्न सडक हेरालु नियुक्त गरी परिचालन गरेको उहाँको भनाइ छ।
सडक हेरालुमार्फत् भल तथा पहिरो व्यवस्थापन गरी मुख्य–मुख्य ग्रामीण सडक तत्काल मर्मतसम्भार गर्नसके निर्माण भइसकेका सडकमा क्षति न्यून गर्न सकिने अध्यक्ष गुरुङले बताउनुभयो । नियुक्त भएका सडक हेरालुले गाउँपालिका, वडा कार्यालय र वडाको प्राविधिकको निगरानी तथा निर्देशनमा वडाभित्रमा मुख्य–मुख्य सडकमा नियमित यातायात सञ्चालन गर्ने गरी काम गर्ने छन् ।
नाला सरसफाइ गर्ने, खाल्डाखुल्डी पुर्ने, भल कटाउने, सडकमा पानी बग्न नदिने, झाँडी तथा झारपात हटाउने, सडक अतिक्रमणबाट जोगाउनेलगायत काम गर्नेछन् । सानातिना भल पानी र पहिराले भत्काएका सडक समयमा मर्मत गर्न नसक्दा सडकमा धेरै क्षति हुने गरेको छ । यसबाट लामो समयसम्म सडक अवरुद्ध हुन्छ ।
ुसडक हेरालुलाई सडक मर्मतसम्भारमा प्रयोग हुने सामग्री गाडा, बेल्चा, गैँची, कोदाली, घन, जावेल, कराइ, टेपलगायतका आवश्यक सामग्री गाउँपालिकाले उपलब्ध गराएको छु, अध्यक्ष गुरुङले भन्नुभयो । रासस